बैतडी : मेलौलीमा न्यायिक समितिको क्षेत्राधिकार सम्बन्धी अभिमुखिकरण सम्पन्न भएको छ। शनिबार मेलौली नगरपालिकाको आयोजनामा न्यायिक समितिको क्षेत्राधिकार सम्बन्धी पालिकाभरीका सम्पूर्ण वडाहरुको अभिमुखिकरण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो।
न्यायिक समितिले कुन प्रकृतिका मुद्दामा फैसला गर्ने र कस्ता विवादमा मेलमिलाप मात्र गराउन पाउने भनि न्यायिक समितिको क्षेत्राधिकारबारे जानकारी गरिएको जनाईएको छ। प्रत्येक वडाका मेलमिलापकर्तालाई निरूपण गर्ने र मेलमिलापका माध्यमबाट विवाद समाधान कसरी गर्ने भनेर जानकारी दिईएको शिक्षा युवा तथा खेलकुद शाखाका कम्प्युटर अपरेटर तथा न्यायिक समितीका उजुरी प्रशासक महेन्द्रसिंह नायकले बताउनुभयो।
न्यायिक समितिलाई भएको अधिकारका बारेमा मेलमिलापकर्ताहरुसगं छलफल गरिएको नगर उपप्रमुख एवं न्यायिक समितिका संयोजक पार्वती बोहरा बिष्टले बताउनुभयो। आलीधुर, बाँधपैनी, कुलो वा पानी घाटको बाँडफाँट तथा उपयोग, अर्काको बाली नोक्सान गरेको, चरन, घाँस, दाउरा, ज्याला मजुरी नदिएको, घरपालुवा पशुपन्छी हराएको वा पाएको, ज्येष्ठ नागरिकको पालनपोषण तथा हेरचाह नगरेकोबारे, कुटपिट, चरित्रहत्या, लगायत न्याय निरूपण गर्ने अधिकारका बारेमा अधिबक्ता दिपेन्द्र बहादुर चन्दले प्रशिक्षण दिनुभएको उहाँले बताउनुभयो।
न्यायिक समितिले मेलमिलापको माध्यमबाट पति पत्नीबिचको सम्बन्धविच्छेद, लुटपिट गाली बेइज्जती, अरूको आवासमा अनधिकृत प्रवेश गरेको, अङ्गभङ्गबाहेकको बढीमा एक वर्षसम्म कैद हुन सक्ने, प्रचलित कानुनबमोजिम मेलमिलाप हुन सक्ने व्यक्ति वादी भई दायर हुने अन्य देवानी र एक वर्षसम्म कैद हुन सक्नेलगायतका न्यायिक समिति भित्रि पर्ने बिभिन्न प्रकृतिका विवादमा मेलमिलाप गराउने अधिकारका बारेमा जानकारी गरिएको हो। अभिमुखिकरण तथा प्रशिक्षणमा सहभागि सम्पूर्ण वडाका मेलमिलापकर्ताहरुले न्यायिक समितिबारे धेरै कुरा सिकेको अब कार्यान्वयन ल्याउने बताएका छन।
अभिमुखिकरण तथा प्रशिक्षणमा कार्यक्रममा नगर प्रमुख भिम बहादुर चन्द, नगर उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत, वडाध्यक्षहरु, कार्यपालिका सदस्य, पत्रकार लगायत ९ ओटै वडाहरुबाट मेलमिलापकर्ताहरु सहभागि भएका थिए।