डडेल्धुरा जिल्ला पूर्ण खोप सुनिश्चित घोषणा

बैतडी : डडेल्धुरा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ।

जिल्लाभरका जन्मेदेखि १५ महिना सम्मका दुई हजार ३८३ बालबालिका मध्ये ३ जना शून्य डोज र २७ जना केही न केही खोप छुट भएको पाइएको थियो।

यस्तै, १६ महिनादेखि ५९ महिना सम्मका सात हजार ५२० जना बालबालिकामध्ये तीन जना शून्य डोज र ७० जना केही न केही खोप छुट भएका बालबालिका भेटिएकोमा छुट भएका सबै बालबालिकालाई वैशाख महिनासम्म राष्ट्रिय खोप तालिका अनुसार पाउनुपर्ने सबै खोप लगाई वैशाख महिनालाई खोप महिनाको रूपमा मनाइएको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ।

डडेल्धुरालाई पहिलोपटक २०७२ साल पुस १० गते ‘पूर्ण खोपयुक्त जिल्ला’ घोषणा गरिएको थियो। त्यसयता प्रत्येक वर्ष ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपन’ घोषणा गरिँदै आएको छ। यसपटक पनि सबै आवश्यक मापदण्ड पूरा भएपछि जिल्लालाई शनिबार पूर्णखोप सुनिश्चितता तथा दिगोपन घोषणा गरिएको स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख केशरबहादुर साउदले बताए।

हाल डडेल्धुरामा एक सय छ वटा खोप केन्द्र सञ्चालनमा रहेका छन्। डडेल्धुरा जिल्लाका ५२ वटै वडा र सात वटै पालिकाहरू पूर्णखोप सुनिश्चित भइसकेपछि जिल्लालाई नै पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो।

कार्यक्रममा जिल्लाका सात वटै पालिकाबाट एक–एक जना गरी सात जना उत्कृष्ट स्वास्थ्यकर्मीहरू र उत्कृष्ट खोप कार्यकर्ताहरूलाई प्रमाणपत्र, दोसल्ला तथा नगदसहित सम्मान गरिएको थियो। उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै स्वास्थ्य कार्यालयका दुई जना कर्मचारी पनि सम्मानित भएका थिए।

‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपन’ को प्रमाणपत्र सुदूरपश्चिम प्रदेशकी सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्का र स्वास्थ्य निर्देशनालयका प्रमुख डा। खगेन्द्रबहादुर बमले जिल्ला खोप समन्वय समितिका संयोजक गगनसिंह भण्डारीलाई हस्तान्तरण गरेका थिए।

सुदूरपश्चिम प्रदेशकी सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले ग्रामीण क्षेत्रमा रहेर काम गर्ने र ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपन’ जिल्ला घोषणा गर्न महत्त्वपूर्ण सहयोग गर्ने स्वास्थ्यकर्मीहरूको कार्य प्रशंसनीय रहेको बताइन्। उनले प्रदेश सरकारले ग्रामीण स्तरमा रहेका नागरिकहरूको स्वास्थ्यमा ध्यान दिएको बताइन्। उनले समय–समयमा ग्रामीण स्तरमै स्वास्थ्य शिविर सञ्चालन गरिरहेको जानकारी दिइन्।

Leave A Reply

Your email address will not be published.