दार्चुलाको टिंकर नाका साउन ७ देखि ९ गते सम्म खुल्ने

दार्चुलाको व्याँस गाउँपालिका –१ स्थित नेपाल –चीन सीमा नाका साउन ७ देखि ९ गते सम्म खुल्ने भएको छ। चीनको तिब्बतस्थित ताक्लाकोटमा रहेको स्थानीय प्रशासनले छाङरु र टिङ्करका व्यापारीलाई नाका खुल्नेबारे जानकारी गराएपछि टिङ्करभन्ज्याङ १ नम्बर पिल्लर सीमानाका खुल्ने भएको हो। नाका खुल्ने भएपछि यहाँका व्यापारी चीनको ताक्लाकोट जाने तयारीमा छन्।

चीनको तिब्बतमा रहेको स्थानीय प्रशासनले व्याँस गाउँपालिकाका छाङरु,तिङकरका व्यापारीलाई तीन दिनका लागि खुल्ने जानकारी गराएको व्याँस गाउँपालिका–१ का दानसिंह टिंकरीले बताए। नाका खुल्ने जानकारी पाएपछि व्याँस –१ छाङरु टिङकरका स्थानीयले नेपाल चीन सिमास्तम्भ १ नम्बर पिलर भन्दा ५/६ किलोमिटर तल डोङ्काट, टाटामा चीनको तिब्बत लैजाने सरसमान राखेका छन्।

जिल्ला प्रशासन कार्यालय दार्चुलाको तथ्यांक अनुसार यो बर्ष दार्चुला जिल्लाबाट चीन तिब्बत जानको लागि व्याँँसका ५६ जनाले र व्याँस बाहेकका दार्चुलाका अन्य स्थानीय तहका ४९ जनाले नयाँ पास बनाएका छन्। गत बर्ष चीन तिब्बत प्रवेश अनुमतिपत्र बनाएका व्याँसका १४३ जना र व्याँस बाहेक दार्चुलाका अन्य स्थानीयतहका ८ जना गरि जम्मा १५१ जनाले यो बर्ष चीन तिब्बत प्रवेश अनुमतिपत्र नविकरण गरेका छन्।

चीनले टिंकर भञ्ज्याङस्थित १ नम्बर सीमास्तम्भ नजिकसम्म सडक निर्माण गरेको छ। चीनले सीमास्तम्भ भन्दा आधा घण्टाको दूरीमा सापु भन्ने ठाउँमा आफ्ना सुरक्षाकर्मी बस्ने भवनको संरचना पनि निर्माण गरेको र सुरक्षाकर्मीको भवन र पोष्टको संरचनामा यात्रुलाई चेकजाँच गर्ने मेसिन र उपकरण जोडेको छ। छाङरु तिङकरका स्थानीयका अनुसार नेपाल बाट जाने व्यापारीले सापुमा रहेको चेकपोस्टमा सामान चेकजाँच र आफ्नो पास देखाएपछि मात्रै अगाडि जान पाईन्छ।

नेपालतर्फ व्याँस गाउँपालिकाको वडा नम्बर १ तिंकरको छियालेकमा सशस्त्र प्रहरीको बिओपी र नेपाल प्रहरीको इलाका प्रहरी कार्यालय सञ्चालनमा ल्याइएको छ। छियालेकबाट करिब ६/७ किलोमिटर अगाडि ५ घण्टाको दूरीमा नेपाल–चीन सीमास्तम्भ १ नम्बर पिलर पर्छ। टिंकरमा अध्यागमन कार्यालय सञ्चालनको माग गरिएको छ।

Leave A Reply

Your email address will not be published.