बाजुराकी पार्वतीले बाटोमै जन्माइन् बच्चा, टाँटे स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले गरे उद्धार

बाजुरा–बुढीगंगा नगरपालिका–७ स्थित झली घर भएकी २२ वर्षीया पार्वती ल्वारले स्वास्थ्य संस्था पुग्न नपाउँदै बाटोमै बच्चा जन्माएकी छिन्। नियमित स्वास्थ्य जाँच गराएकी पार्वतीलाई सुत्केरी हुने मिति साउन २) गते तोकिएको थियो। तर सो मिति आउनुभन्दा दुई हप्ता अगाडि, साउन ७ गते विहान सुत्केरी व्यथाले च्यापेपछि टाँटे स्वास्थ्य चौकी पुग्ने क्रममा उनले बाटोमै तेस्रो सन्तानको रूपमा छोराको जन्म दिइन्।

पार्वती माइती घर कोटबाडामा आएकी थिइन्, जहाँबाट टाँटे स्वास्थ्य चौकी पुग्न करिब ३) मिनेट लाग्छ। स्वास्थ्य चौकी नपुग्दै व्यथाले च्यापेपछि उनी बाटोमै थचक्क बसिन् र त्यसैबेला बच्चा जन्माइन्। पार्वतीले आमा वा परिवारका सदस्यलाई समेत सुरुमै केही बताइनन्।

घटना भएको जानकारी पाउनेबित्तिकै टाँटे स्वास्थ्य चौकीकी सिअनमी मंगला कुमारी बोहरा नेतृत्वको तीन सदस्यीय स्वास्थ्यकर्मी टोली तत्काल उद्दारका लागि पुगेको थियो। टोलीले स्टेचरमार्फत पार्वती र नवजात शिशुलाई स्वास्थ्य संस्थामा पुर्‍याई सुरक्षित रूपमा सुत्केरी प्रक्रिया सम्पन्न गराएको हो।

१८ वर्ष नपुग्दै विवाह गरेकी पार्वतीले २२ वर्षकै उमेरमा तेस्रो बच्चा जन्माएकी हुन्। विगतमा मानसिक तनावका कारण केही समय औषधी सेवन गरेकी पार्वतीको स्वास्थ्य अवस्था पनि कमजोर रहेको स्वास्थ्य संस्थाको भनाइ छ।

श्रीमान् गणेश ल्वार भारतमा चौकीदारीको काम गर्छन्। गर्भावस्थाको सुरूवातदेखि नै उनी पार्वतीसँग थिएनन्। सासु(ससुरा अलग बस्ने, पोइली घरमा पनि हेरचाह नपाउने र स्वास्थ्य संस्था टाढा पर्ने भएकाले उनी माइती घर आएकी थिइन्।

Leave A Reply

Your email address will not be published.