दार्चुलामा सुर्माभवानी बिरे जात्रा सुरु

दार्चुलामा सबैभन्दा ठुलो जात्राका रूपमा मनाइने सुर्माभवानी बिरे जात्रा सुरु भएको छ।

हरेक तेस्रो वर्षमा दार्चुला र बझाङ जिल्लाको सिमानामा लाग्ने यस वर्षको ‘बिरे जात्रा’ साउन ८ गते ९औसी० देखि सुरु भएको अपिहिमाल गाउँपालिका–३ का स्थानीय कल्यानसिंह बोहोराले जानकारी दिए। औँसीदेखि जात्रा मनाउन जाने बिरेहरू छुट्टिएर बसेको उनले बताए। जात्राको विशेषता र मान्यता अनुसार जात्रामा सहभागी हुने पुरुष मानिस औँसीदेखि नै मासुजन्य पदार्थ छोडेर घरपरिवारको सम्पर्कबाट समेत छुट्टिएर देउघरमा बस्ने गर्ने उनले जानकारी दिए।

यो वर्षको ‘बिरे जात्रा’ साउन १८ गतेदेखि साउन २४ गतेसम्म सुर्माभवानीमा जात्रा लाग्ने उनले बताए। जात्राको पहिलो दिन आइतवार रतेडी जात हुने अपिहिमाल गाउँपालिका–३ का वडाध्यक्ष गगनसिंह कार्कीले जानकारी दिए। यो जात्रा अपिहिमाल गाउँपालिका–३ क्षेती घाजिरमा लाग्ने गर्दछ। अपिको घाजिर हुँदै बझाङको सुर्मा सरोवरको सीमासम्म यो जात्रा मनाइने गरिन्छ।

उच्च हिमशृङ्खलाको बिचमा अवस्थित सरोवर धार्मिक पर्यटकीय तथा सांस्कृतिक दृष्टिकोणले महìवपूर्ण रहेको छ। सुर्माभवानीलाई बझाङका सिकारीले लखेट्दा सुर्मा तालमा विलय भएको मान्यता छ। सोही कारण सुर्मातालमा अपिहिमालको खण्डेश्वरीबाट जाने तीर्थालुले सरोवरमा पूजा गरेपछि मात्रै बझाङबाट आउने तीर्थालुले पूजा गर्ने चलन रहेको अपिहिमाल गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले बताए।

सुर्मासरोवर जात्रा छ हजार ५२३ मिटर उचाइमा गएर मनाइने गरिन्छ। जात्राका लागि क्षेत्री पुख्र्यौली घर भएका स्थानीय र घाजिर थर भएका समुदायका तीर्थालुले औँसीदेखि नै एक छाक मात्र खाएर सुर्माभवानीको व्रत बस्नु पर्ने परम्परा छ। सुर्मासरोवर तीर्थ जाने व्रतालु भक्तलाई बिरे भनिन्छ। बिरे दुई प्रकारका हुन्छन्। जसमा पहिलो पटक जानेलाई बालो बिरे र पटक–पटक गएकालाई बुढोबिरे भन्ने चलन छ। सुर्माभवानी जात्रामा सहभागी हुने भक्तजनलाई जात्रा अवधिभर लसुन, प्याज, मसुर, मासु तथा रक्सी जस्ता भोजन निषेध गरिएको छ।

सात दिनसम्म परम्परादेखि नै चलिआएका धर्म संस्कृति अनुसार गीत गाउँदै सुर्माभवानीको जात्रा समाप्ति हुने गर्छ।

Leave A Reply

Your email address will not be published.