आज ६१ औँ राष्ट्रिय बाल दिवस मनाईंदै

आज ६१औँ राष्ट्रिय बाल दिवस मनाईंदैछ। ‘बालबालिकामा लगानीस् सुनिश्चीत भविश्यको थालनी’ नाराका साथ दिवस मनाउन लागिएको हो । नेपालले हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसको रूपमा मनाउने गरेको छ।

संयुक्त राष्ट्रसङ्घको बाल अधिकारसम्बन्धी महासन्धि, १९८९ लाई नेपालले अनुमोदन गरेको दिन भदौ २९ गते राष्ट्रिय बालदिवस मनाउने निर्णय भएको हो। त्यही अनुसार २०६३ सालदेखि राष्ट्रिय बालदिवस हरेक वर्षको भदौ २९ गते मनाउन थालिएको हो । साथै २०६४ सालदेखि हरेक वर्ष एक विषयमा मूल नारा बनाएर राष्ट्रिय बालदिवसका कार्यक्रम आयोजना गर्न थालिएको छ।

२०४७ साल भदौ २९ गते नेपालले संयुक्त राष्ट्रसंघको बालअधिकारसम्बन्धी महासन्धिलाई अनुमोदन गरेको दिनलाई बालबालिकाको विशेष दिनको रूपमा लिइ राष्ट्रिय बाल दिवसको रूपमा मनाउने गरिएको हो।

नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा आत्मसात् गर्दै हरेक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हक हुनेलगायतको प्रत्याभूति गरेको छ । तर धेरै बालबालिका अहिले पनि यस्ता हक अधिकारबाट बञ्चित छन् । विगतमा रत्न शाहको जन्म दिन अर्थात् भदौ ४ गते बालबालिकालाई मिठाई, फलफूल बाँडेर र नाचगान गरेर राष्ट्रिय बालदिवस मनाइने गरिन्थ्यो।

यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय बाल दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले बाल दिवसले बालबालिकाका लागि शिक्षा, स्वास्थ्य, सुरक्षा एवम् विकासमा ध्यान दिँदै आवश्यक लगानीको सुनिश्चितता प्रदान गर्ने अपेक्षा गरिएको बताउनुभएको छ। बालबालिकामाथि हुने सबै किसिमका अमानवीय व्यवहार, हिंसा तथा दुर्व्यवहार रोक्नु सम्बन्धित सरोकारवालाको दायित्व रहेको उहाँको भनाइ छ।

Leave A Reply

Your email address will not be published.