सरकारले ‘जेन–जी’ प्रदर्शनका क्रममा ज्यान गुमाएकाहरूको सम्मानमा आज राष्ट्रिय शोक मनाउन देशभर सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषद्को सोमवारको निर्णयअनुसार आज असोज १ गतेलाई सार्वजनिक बिदा घोषणा गरिएको हो।
सरकारी कार्यालय, विदेशमा रहेका नेपाली दूतावास र नियोगमा सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने मन्त्रिपरिषद्बाट निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले निकालेको विज्ञप्तिमा उल्लेख छ।
जेन–जीको आन्दोलनमा ज्यान गुमाएकाहरूको हिजो शवयात्रासहित अन्त्येष्टि गरिएको छ। शिक्षण अस्पताल महाराजगञ्जबाट १० जनाको सामूहिक शवयात्रा निकालिएको थियो । तीमध्ये छ जनाको शव काठमाण्डौ बाहिर लगिएको छ भने चार जनाको सम्मानसहित पशुपतिमा अन्त्येष्टि गरियो।
गएको २३ र २४ गते भएको आन्दोलनका मृतकलाई शहीद घोषणा गर्ने र परिवारलाई १५ लाख रुपैयाँ दिने सरकारले निर्णय गरिसकेको छ। भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध युवाहरूले गरेको प्रदर्शन हिंसात्मक बन्दा ज्यान गुमाउनेको सङ्ख्या ७३ जना पुगेको छ। जसमध्ये प्रहरीतर्फ तीन जनाले ज्यान गुमाएका नेपाल प्रहरीले जनाएको छ ।