स्वास्थ्य मन्त्रालयको भवन पनि प्रयोग अयोग्य

काठमाडौं – जेनजी युवा आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रत भएको स्वास्थ्य मन्त्रालयको भवन प्रयोग गर्न जोखिम रहेको अध्ययन टोलीले निष्कर्ष निकालेको छ ।

शहरी विकास तथा भवन निर्माण विभागको अगुवाइमा नेपाल इन्जिनियर्स एसोसिएसनसहितका प्रतिनिधिहरुले गरेको प्रारम्भिक अध्ययनबाट स्वास्थ्य मन्त्रालयको भवन प्रयोग गर्न जोखिम रहेको निष्कर्ष निकालिएको हो ।

नेपाल इन्जिनियर्स एसोसिएसनका अध्यक्ष सुवासचन्द्र बरालले स्वास्थ्य मन्त्रालयको भवनका वालहरुमा धेरै क्षति नपुगे पनि स्ल्याबमा धेरै क्षति पुगेको बताए । 

नेपालको इन्जिनियरिङ इतिहास र वास्तुशिल्पको हिसाबले रामशाहपथस्थित स्वास्थ्य मन्त्रालयको भवनलाई विश्वकै नमूना मानिन्छ । संसारकै नामी आर्किटेक्ट लुई कानको शैलीमा पिल्लरविनाको नमुना डिजाइनमा बनाइएको यो भवनमा आर्किटेक्चर र इन्जिनियरिङको अनौठो मेल रहेको प्राविधिकहरु बताउँछन् ।

विश्वकै तीनमध्ये एक वास्तुशिल्प चिनाउने स्वास्थ्य मन्त्रालयको भवन अब खण्डहर
कुनै समय विदेशबाट समेत विद्यार्थीहरु अध्ययन अवलोकन गर्न आउने स्वास्थ्य मन्त्रालयको यो भवनमा जेनजी युवा आन्दोलनको क्रममा भदौ २४ गते आगजनी भएको थियो ।

आगजनीबाट क्षतिग्रस्त संरचनाहरुको शहरी विकास तथा भवन निर्माण विभागसँगको समन्वयमा नेपाल इन्जिनियर्स एसोसिएसन, सोसाइटी अफ नेप्लिज आर्किटेक्ट, इलेक्ट्रिकल इन्जिनयर्स सोसाइटी, मेकानिकल इन्जिनियर्स सोसाइटीलगायतका प्रतिनिधिहरु सम्मिलित टोलीले अध्ययन गरिरहेको छ ।

सोही अध्ययनको क्रममा यसअघि सर्वोच्च अदालत, काठमाडौं जिल्ला अदालत, नेपाल बार एसोसिएसन र नेपाल गुणस्तर तथा नापतौल विभागका भवनहरू तत्काल प्रयोग गर्न नमिल्ने निष्कर्ष निकालिएको थियो । प्रयोग अयोग्य ठहर गरिएका भवनहरुमा खतराको संकेत स्वरुप रातो स्टिकर टाँसिएको छ ।

Leave A Reply

Your email address will not be published.