दार्चुला- दार्चुलामा ‘जेन्जी’ द्वारा गरिएको प्रदर्शनका क्रममा दार्चुला जिल्लामा आठ वटा कार्यालयमा क्षति पुगेको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाकाअनुसार हालसम्म आठ वटा कार्यालयमा क्षति भएको प्रारम्भिक अनुमान छ । क्षतिको पूर्ण विवरण भने हालसम्म सङ्कलन हुन सकेको छैन।
गत भदौ २४ गते भएको प्रदर्शनका क्रममा जिल्लाका तीन वटा राजनीतिक दलका पार्टी कार्यालय, दुई वटा वडा कार्यालय, जिल्ला कारागार, गोकुलेश्वर अस्पताल र रेडियो लोकदर्पण एफएमको कार्यालयमा क्षति पुगेको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए । प्रदर्शनका क्रममा काँग्रेसको पार्टी कार्यालयमा ६५ हजार नगदसहित जिन्सी, भौतिक संरचनालगायत सम्पूर्ण सामग्री नष्ट गरिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी ९एमाले० को कार्यालयभित्रका कम्प्युटर, अन्य उपकरणसहित कार्यालय तोडफोड भएको छ । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० को कार्यालयमा रहेको सहिद प्रतिष्ठानमा करिब ९९ हजार बराबरको क्षति पुगेको प्रारम्भिक तथ्याङ्क प्राप्त भएको प्रजिअ पौडेलले बताए। जिल्ला कारागार कार्यालयमा दुई वटा सिसी क्यामेरासहित करिब ५१ हजार ५०० रुपैयाँ बराबरको क्षति पुगेको छ ।
गत भदौ २६ गते दुहुँ गाउँपालिका–३ को कार्यालयमा आगजनी हुँदा चारकोठे भवनसहित वडा कार्यालयको एउटा कोठा जलेर नष्ट भएको छ । वडा कार्यालयभित्रका सम्पूर्ण कम्प्युटर, प्रिन्टरलगायत सामग्रीमा क्षति पुगेको छ । वडा कार्यालयमा ७२ लाख ६ हजार ७ सय रुपैयाँ बराबरको क्षति पुगेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
यसैगरी, गत भदौ २८ गते शैल्यशिखर नगरपालिका–२ को वडा कार्यालयमा तोडफोड गरिएको थियो । प्रजिअ पौडेलका अनुसार तोडफोडबाट वडा कार्यालयभित्रका सम्पूर्ण सामान नष्ट गरिए पनि क्षतिको रकम खुलाइएको छैन ।
लेकम गाउँपालिका–५ मा रहेको सामुदायिक रेडियो लोकदर्पण एफएफमा प्रदर्शनकारीले ढुङ्गामुढा प्रहार गरेको प्रशासनले जनाएको छ । प्रदर्शनपछि अहिले सबै ठाउँबाट नियमित सेवा सञ्चालन भइरहेको उनले बताए।