नेपालले दियो कतारलाई १ सय ७१ रनको लक्ष्य

काठमाण्डौ – आईसीसी टी–२० विश्वकप एशिया तथा इस्ट एशिया प्यासिफिक छनोटअघिको दोस्रो टी–२० अभ्यास खेलमा नेपाली क्रिकेट टोलीले कतारलाई १ सय ७१ रनको लक्ष्य दिएको छ ।

ओमानमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७० रन बनायो । नेपालका कुशल भुर्तेलले ५६ तथा दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले समान ३८ रन बनाए । कतारका शारिक मुनीर र मुहम्मद इक्रामुल्लाहले समान २ विकेट लिए ।

यसअघि अस्ति भएको पहिलो टी–२० अभ्यास खेलमा नेपालले घरेलु टोली ओमानलाई ६ विकेटले हराएको थियो । टी–२० विश्वकप एशिया तथा इस्ट एशिया प्यासिफिक छनोट खेल्न नेपाली टोली ओमान पुगेको हो ।

नेपालले विश्वकप छनोटको समूह चरणमा कुवेत र जापानसँग खेल्नेछ । समूहको शीर्ष दुईमा रहने टोली सुपर–सिक्समा पुग्नेछ । सुपर–सिक्समा ६ टोलीमध्ये शीर्ष ३ मा पर्ने टोलीले आउँदो वर्ष भारत र श्रीलङ्कामा हुने टी–२० विश्वकप खेल्न पाउनेछन् ।

नेपाली टोलीले भर्खरै संयुक्त अरब इमिरेट्स ९यूएई० को शारजाहमा भएको वेस्ट इन्डिजसँगको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला जितेको थियो । नेपाली टोली यूएईबाट विश्वकप छनोट खेल्न ओमान गएको हो ।

Leave A Reply

Your email address will not be published.