शास्त्रले तोकेअनुसार आज तिहार अन्तर्गत कुनै कर्म नहेको पञ्चाङ्ग निर्णायक विकास समिति भनाई

काठमाण्डौ – शास्त्रले तोकेअनुसार आज तिहार अन्तर्गत कुनै कर्म नरहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । विशेषगरी यमपञ्चक पाँच दिनको हुने भए पनि यस वर्ष तिथिको घटबढले एक दिन बढेर छ दिन भएको छ ।

जस अनुसार गएको एक गते शनिवार त्रयोदशी तिथिमा धनतेरस पर्व मनाइएको छ । तर त्रयोदशी तिथिमै गरिने कागपूजा भने आइतवार गरियो । त्यसैगरी हिजो सोमवार बिहान कुकुर तिहार र बेलुका लक्ष्मीपूजा गरिएको छ । परम्परा अनुसार कतै कतै औँसीमा गाईको पूजा गर्ने चलन समेत छ ।

शास्त्रीय रूपमा भने औँसीपछि कार्तिक शुक्ल प्रतिपदा लागेपछि मात्र गाई पूजा गर्नुपर्ने उल्लेख रहेको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्राध्यापक डा। देवमणि भट्टराईले जानकारी दिनुभयो ।

त्यसअनुसार आज मङ्गलवार यमपञ्चक अर्थात् तिहारको मध्य समय परे पनि शास्त्रले तोके अनुसार कुनै कर्म नपरेको उहाँको भनाइ छ । यसवर्ष गाईगोरु एवम् गोवर्द्धन पूजा भोलि बुधवार परेको छ । आत्म पूजा र नेपाल संवत्को आरम्भ पनि यसै दिन परेको समितिले जनाएको छ । पर्सि कात्तिक ६ गते बिहीवार भाइटीका र किजापूजा मनाइनेछ । भाइटीकाको शुभ साइत ६ गते बिहान ११ बजेर ३९ मिनेटमा रहेको समितिले यसअघि नै जानकारी गराएको छ ।

Leave A Reply

Your email address will not be published.