बैतडी : बैतडीको शिवनाथ गाउँपालिकाले चार दिन बिदा दिएको छ। प्रसिद्ध शिवनाथ मन्दिर र देहीगडा भगवती मन्दिरमा लाग्ने जात्राको अवसरमा गाउँपालिकाले स्थानीय बिदा दिएको हो।
कार्तिक ११ र १२ गते प्रसिद्ध शिवनाथ मन्दिरमा लाग्ने जात्रा र कार्तिक १८ र १९ गते देहीगडा मन्दिरमा लाग्ने जात्राको अवसरमा बिदा दिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाको अध्यक्षस्तरीय निर्णयले स्थानीय बिदा दिएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले बताउनुभयो।
जात्रामा स्थानीयहरुको उल्लासमय सहभागिता दृष्टिगत गरेर स्थानीय सार्वजनिक बिदा दिइएको गाउँपालिकाले जनाएको छ। स्थानीय बिदाको दिन गाउँपालिकाभित्रका सबै सरकारी कार्यालय, शिक्षण संस्था, बैंक तथा बित्तीय संस्था बन्द रहने बताइएको छ।
शिवनाथ मन्दिरमा लाग्ने मेलामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीहरु समेत पुग्ने गर्दछन्।
