फागुन २१ गते हुने निर्वाचनका लागि बैतडीमा नयाँ मतदाता थपिँदै

बैतडीमा धमाधम नयाँ मतदाता थपिन थालेका छन्। फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्नेको संख्या बढ्दै गएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

गएको असोज ९ गतेदेखि अहिलेसम्म ३ सय १ जनाले मतदाता नामावलीमा नामदर्ता गराएको जिल्ला निर्वाचन कार्यालय बैतडीका निमित्त प्रमुख पुरुषोत्तम जोशीले बताए। मतदाता नामावली नाम दर्ता गर्नेमा युवा उमेर समूहका नागरिक बढी रहेका उनले बताए।

कात्तिक २८ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने जोशीले बताए। जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्क अनुसार बैतडीमा १८ बर्ष पूरा भएका १ लाख ५४ हजार २१६ जना मतदाता रहेका छन्। जसमध्ये महिला ७६ हजार ८३४, पुरुष ७७ हजार ३८०जना र अन्य दुई जना रहेका छन् ।

गएको प्रतिनिधि सभा निर्वाचन २०७९ मा जिल्लामा एक लाख ५० हजार १५६ मतदाता रहेका थिए। सो निर्वाचनमा ७८ हजार ३६९ ९५२ प्रतिशत० मत खसेको थियो। अघिल्लो प्रतिनिधि सभा निर्वाचनभन्दा आउने प्रतिनिधि सभा निर्वाचनमा मतदाता सङ्ख्या बढ्ने देखिएको छ। एक मात्रै सङ्घीय निर्वाचन क्षेत्र रहेको बैतडीमा दुई वटा प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र, १० वटा स्थानीय तह र ८४ वटा वडा रहेका छन्।

Leave A Reply

Your email address will not be published.