पर्यटन विकासमा उत्कृष्ट कार्य गरेबापत अपिहिमाल गाउँपालिका सम्मानित

सुदूरपश्चिमको दार्चुलामा रहेको अपिहिमाल गाउँपालिका सम्मानित भएको छ ।पर्यटन विकासमा उत्कृष्ट कार्य गरेबापत पालिका राष्ट्रियस्तरमा सम्मानित भएको हो ।

विश्व पर्यटन दिवसको अवसरमा नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अपिहिमाललाई देशभरका स्थानीय तहमध्ये पर्यटन विकासमा उत्कृष्ट पालिकाको रूपमा सम्मान गरेको हो ।

शुक्रबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले अपिहिमाल गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहरालाई सम्मानपत्र हस्तान्तरण गरे ।

विविध कारणले सेप्टेम्बर २७ मा आयोजित मुख्य समारोहमा उपस्थित हुन नसकेकाले मन्त्रालयले छुट्टै कार्यक्रम आयोजना गरी अध्यक्ष बोहरालाई सम्मानपत्र हस्तान्तरण गरेको हो ।

गाउँपालिकाले पछिल्ला तीन वर्षमा पर्यटन विकासमा उल्लेखनीय प्रगति हासिल गरेको छ । आफ्नो ५ वर्षे आवधिक योजना, वार्षिक नीति तथा कार्यक्रम र १० वर्षे पर्यटन रणनीति अनुरूप अघि बढेको गाउँपालिकाले सुदूरपश्चिमको प्रमुख तथा देशकै सुन्दर गन्तव्यको रूपमा आफूलाई स्थापित गर्ने लक्ष्य लिएको छ ।

यसका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारका विभिन्न निकायसँग सहकार्य गर्दै आएको गाउँपालिकाले जनाएको छ ।

अपिहिमाल गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि योजनाबद्ध रूपमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । गाउँपालिकाले ‘अर्ग्यानिक अपि’अभियान मार्फत कृषि पर्यटनलाई विशेष जोड दिएको छ ।

स्थानीय अर्ग्यानिक उत्पादनहरूलाई बजारसँग जोडेर स्थानीयको जीविकोपार्जनमा टेवा पुर्‍याइएको छ। यसका साथै, पदयात्रा पर्यटन ट्रेकिङ० र हिमाल आरोहणलाई पनि गाउँपालिकाले प्राथमिकतामा राखेको छ ।

पर्यटन पूर्वाधार विकासमा समेत गाउँपालिकाले महत्त्वपूर्ण काम गरेको छ। नेपाल पर्यटन बोर्ड तथा युएनडिपीको जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनासँगको सहकार्यमा मकरीगाडमा पर्यटकीय सूचना केन्द्र स्थापना गरिएको छ ।

यस केन्द्रले पर्यटकहरूलाई सूचना प्रदान गर्नुका साथै स्थानीय उत्पादनहरूको बिक्री वितरणमा पनि सहयोग पुर्‍याउनेछ ।

गाउँपालिकाको पर्यटन विकासको यात्रामा विभिन्न सङ्घसंस्थाहरूले पनि हातेमालो गरेका छन्। नेपाल पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, ग्ल्म्ए, सुदूरपश्चिम प्रदेश पर्यटन ईकाई, नाटा सुदूरपश्चिम, टान, एनएमए, हान लगायतका संस्थाको सहयोग र सहकार्य महत्त्वपूर्ण रहेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले पर्यटनलाई स्थानीय युवाहरूका लागि रोजगारी सिर्जना गर्ने र शिक्षा तथा स्वास्थ्य क्षेत्रमा समेत टेवा पुर्‍याउने माध्यमको रूपमा लिएको छ ।

होमस्टे सञ्चालन, होटल व्यवसाय र कन्टेन्ट निर्माण जस्ता क्षेत्रमा स्थानीयहरू संलग्न हुँदै आएका छन् । यस सम्मानले अपिहिमाललाई ’अर्ग्यानिक र टुरिजम गाउँपालिका’ को रूपमा स्थापित गर्न थप प्रेरणा मिलेको अध्यक्ष बोहराले बताउनुभयो ।

अपिहिमालको पर्यटन सद्भावना दूतका रूपमा हिमालय भट्टले र काठमाडौँमा क्रियाशील पर्यटन व्यवसायीहरूले पनि यस क्षेत्रको प्रवर्द्धनमा विशेष योगदान पुर्‍याउँदै आएका छन् ।

भविष्यमा अपिदेखि सैपाल हिमालसम्मको पर्यटन विकासको अवधारणालाई समेत अघि बढाइएको छ ।

अपिहिमाल गाउँपालिकाले २०८० असोज १० गते ९सेप्टेम्बर २७० विश्व पर्यटन दिवसकै दिन अपिहिमाल आधार शिविरमा सुदूरपश्चिमका तत्कालीन पर्यटन मन्त्री रमेश धामीको उपस्थितिमा पर्यटन भ्रमण वर्षको उद्घाटन गरेको थियो ।

त्यसको ठिक दुई वर्षपछि सोही दिन राष्ट्रिय सम्मान प्राप्त हुनुलाई एक सुखद संयोगको रूपमा लिइएको अध्यक्ष बोहराले बताए ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!