राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठक चितवनमा शुरू भएको छ। चितवनको सौराहामा आजदेखि शुरू भएको बैठकमा पाँच सय जनाभन्दा धेरै प्रतिनिधिको सहभागिता छ।
बैठकमा पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले राजनीतिक, उपसभापति डा. स्वर्णिम वाग्लेले आउँदो चुनावका लागि प्रतिबद्धतापत्रको मस्यौदा पेश गर्नुहुनेछ। साथै प्रदेश सभापतिले प्रदेशभित्रका जिल्लाको पार्टी सङ्गठनको अवस्थाबारे जानकारी गराउने भएका छन्।
बैठकमा पेश हुने प्रतिवेदनमाथि प्रतिनिधिले सुझाव राख्ने र ती सुझावलाई समेटेर परिमार्जन गर्नुपर्ने देखिए परिमार्जनसहित विस्तारित बैठकले पारित गर्नेछ। बैठकमा पार्टीले आउँदो फागुनका लागि तय भएको महाधिवेशनका बारेमा पनि छलफल हुने नेताहरूले जनाएका छन्।
आजदेखि शुरू भएको रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक भोलिसम्म चल्नेछ।