देउवाको ‘अभिभावकीय नेतृत्व’ आवश्यक भएको चन्दको भनाइ

काठमाडौँ – नेपाली कांग्रेसभित्र पछिल्ला दिनहरूमा पुस्तान्तरण र नेतृत्व हस्तान्तरणको विषयमा बहस तीव्र बन्दै गएको छ ।

पार्टीभित्र दोस्रोदेखि पाँचौं पुस्तासम्मबीच आन्तरिक प्रतिस्पर्धा बढ्दै गएको बेला कांग्रेसका युवानेता तेज चन्दले पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको ‘अभिभावक’को रूपमा भूमिका अझै आवश्यक रहेको बताएका छन् ।

सुदूरपश्चिम प्रदेश कार्यसमिति सदस्य चन्दले सामाजिक सञ्जालमार्फत लेख्दै भनेका “नेपाली कांग्रेसभित्र दोस्रो, तेस्रो, चौथो र पाँचौं पुस्ताबीचको आन्तरिक संघर्ष र अभ्यासलाई हेर्दा फेरि एकचोटि देशलाई निकास र कांग्रेसलाई एकढिक्का बनाएर आउँदो निर्वाचनमा सहभागी गराउन शेरबहादुर देउवा ज्युको अभिभावकीय नेतृत्व अति आवश्यक महसुस हुँदै गएको छ ।”

उनका अनुसार अब देउवा न त आगामी आम निर्वाचनमा प्रत्यक्ष उम्मेदवारको रूपमा प्रतिस्पर्धा गर्ने तयारीमा छन्, न त समानुपातिक सूचीमा बस्ने मनसायमा, बरु उनले पार्टीका मार्गदर्शक तथा ऐतिहासिक अभिभावकको भूमिकामा आफूलाई स्थापित गर्नुपर्ने बेला आएको चन्दको भनाइ छ।

चन्दले आफ्नै फेसबुक स्टाटसमा थप लेखेका छन्“अहिलेको अवस्था ‘देउवा आऊ, कांग्रेस बचाऊ’ भन्ने जस्तो बनेको छ।”

उनका अनुसार पछिल्ला दिनमा कांग्रेसभित्र संगठनात्मक असन्तुलन, नेताबीचको अविश्वास र पुस्तान्तरणको अनिश्चितता बढ्दै गएको छ । यस्तो अवस्थामा देउवाको संयोजक र अभिभावकीय भूमिकाको आवश्यकता झन् बढ्दै गएको उनले बताएका छन् ।

राजनीतिक विश्लेषकहरूले पनि चन्दको भनाइलाई कांग्रेसभित्र देउवाको पुनः सक्रिय संयोजक भूमिकाको संकेतका रूपमा व्याख्या गरेका छन् । उनीहरूको भनाइमा, नयाँ पुस्ता नेतृत्वमा अगाडि बढ्दै गर्दा पुरानो पुस्ताको मार्गदर्शन अझै अपरिहार्य देखिन्छ ।

कांग्रेसभित्र पछिल्ला वर्षहरूमा पुस्तान्तरणको बहस बढ्दै गएको छ। तर साझा धारणा नबन्दा संगठनभित्र द्विविधा र असन्तुलन देखिएको छ । यस्तै परिस्थितिमा देउवाको अनुभव र संयोजन क्षमतालाई पार्टी एकताको प्रतीकका रूपमा हेरिएको छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!