कैलालीमा प्रहरीको सक्रियता : १२ दिनमै ५९ फरार कैदीबन्दी पक्राउ

कैलालीमा प्रहरीले सक्रियता बढाएपछि १२ दिनमै राम्रो सफलता प्राप्त गरेको छ। जिल्ला प्रहरी कार्यालयले लागुऔषध दुर्व्यसनी, फरार प्रतिवादी र जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका कैदीबन्दी नियन्त्रणमा लिनमा सक्रियता देखाएको छ।

११ देखि २२ कात्तिकसम्ममा प्रहरीले ५९ जनालाई पक्राउ गरेर कानुनी कारबाही अघि बढाएको जनाएको छ। जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार १२ दिनमा लागुऔषध दुर्व्यसनीमा संलग्न २५ जनालाई पक्राउ गरिएको छ।

उनीहरुबाट ३१ ग्राम १३० मिलीग्राम खैरो हेरोइन बरामद गरिएकोमा लागुऔषध सम्बन्धी १५ मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको छ । यो अवधिमा विभिन्न मुद्दाका २१ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको छ।

उनीहरु मध्ये चालु मुद्दाका ५ र फैसला कार्यान्वयनका १६ जना छन्। उनीहरुको कैद अवधि आठ महिना १४ दिन कैद र जरिवाना तीन लाख १० हजार १७६ रुपैयाँ रहेको छ।

यस्तै, जेनजी आन्दोलनको मौकामा २४ भदौमा कैलाली कारागारबाट भागेका १३ जना कैदीबन्दीलाई समेत पक्राउ गरिएको छ। उनीहरुमध्ये ९ कैदी र ४ जना बन्दी रहेका छन्। पक्राउ परेका सबैलाई कानुन बमोजिमको कारबाही प्रक्रियामा लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्दले लागुऔषध नियन्त्रण, फरार प्रतिवादी र कारागारबाट भागेका कैदीबन्दी पक्राउ अभियानलाई सक्रियता निरन्तरता दिइने बताए।

‘समाजमा सुरक्षाको प्रत्याभूति र अपराध नियन्त्रण गर्नु नेपाल प्रहरीको प्रमुख प्राथमिकता हो,’ एसपी चन्दले भने, ‘लागुऔषध दुर्व्यसनी नियन्त्रण अभियानकै रुपमा अघि बढाएका छौँ। फरार प्रतिवादी र कारागारबाट भागेका कैदीबन्दीलाई पनि कानुनको दायरामा ल्याइरहेका छौं। ’

Leave A Reply

Your email address will not be published.