कैलालीको गौरीफन्टा नाकामा ५२ तोला सुन र ७८० ग्राम चाँदी बरामद

कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक किलो चाँदीसहित चार जना नेपाली नागरिक पक्राउ परेका छन्। कैलाली, बर्दिया र सुर्खेत घर भएका उनीहरूलाई भारतीय प्रहरीले मङ्गलवार साँझ नेपाल प्रवेश गर्ने क्रममा पक्राउ गरेको हो।

नेपाल–भारत सीमा रहेको बिओपी गौरीफन्टा चेकपोष्टमा खटिएको प्रहरी टोलीले भारतको महाराष्ट्र क्राइम ब्रान्चको सहयोगमा उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा बर्दियाको गेरूवा गाउँपालिका वडा नम्बर २ का २५ वर्षीय दीपकबहादुर सिंह, सुर्खेतको साविक बिजौरा–५ का ३७ वर्षीय भुवनसिंह चलाउने, कैलालीको दरख–२ का ४७ वर्षीय जीवनकुमार थारु र कैलालीको बलिया–३ का ५६ वर्षीय खेमराज देवकोटा रहेको भारतीय प्रहरीले जनाएको छ।

भारतीय प्रहरीका अनुसार उनीहरूबाट ६१६।९ ग्राम अर्थात ५२।९ तोला सुन र ७८०।८ ग्राम चाँदी बरामद गरिएको हो। प्रारम्भिक अनुसन्धानमा उनीहरूले महाराष्ट्रको आभुषण पसलबाट सुन र चाँदीका गरगहना चोरी गरी नेपालतर्फ ल्याएको खुलेको प्रहरीले जनाएको छ। चारै जनालाई थप अनुसन्धानका लागि क्राइम ब्रान्च र गौरीफन्टा प्रहरीले भारतको लखिमपुर खिरी पठाएको बताइएको छ।

Leave A Reply

Your email address will not be published.