दार्चुलाको छाङरु र टिङ्कर जोड्ने बाटो निर्माण हुँदै, स्थानीय खुसी

बैतडी : चीन र भारतसँग सीमा जोडिएको दार्चुलाको दोपाखे, बयली र तम्बाकु क्षेत्रमा बाटो निर्माण सुरु भएसँगै स्थानीय खुसी भएका छन् । व्यास गाउँपालिकाले गत आर्थिक वर्ष २०८१/८२ मा गरेको ठेक्का सम्झौता अन्तर्गत बाटो निर्माण भइरहेको निर्माण कम्पनीले जनाएको छ ।

नेपालबाटै व्यासको वडा नम्बर १ टिङ्कर र छाङरुको धेरै जसो ठाउँको पैदलबाटो निर्माण अघि बढिसकेको छ भने दोपाखे, बयली र तम्बाकु क्षेत्रको बाटो निर्माण अन्तिम चरणमा रहेको मिसन–देवहरी जेभीका प्रतिनिधि केशवबहादुर पालले बताएका छन्।

सङ्घीय सरकारको ससर्त अनुदानबाट गत आर्थिक बर्षमा व्यास गाउँपालिकाले पाँच करोड ५० लाखको टेन्डर आह्वान गरी पैदल बाटो निर्माणको ठेक्का सम्झौता गरेको थियो । त्यसमध्ये एक करोड २५ लाख रुपैयाँ बजेट फ्रिज भइसकेको गाउँपालिकाका लेखापाल गोपालसिंह विष्टले जानकारी दिए। गत असार ७ गतेको गाउँ कार्यपालिका बैठकले गाउँपालिकाको आन्तरिक स्रोतबाट बेहोर्ने गरी बाटो निर्माणको म्याद भने मङ्सिर १५ गतेसम्मका लागि थप गरेको छ ।

थपिएको म्यादभित्र बाटो निर्माण कार्य सक्ने काम भइरहेको उनले बताए। गाउँपालिकाले चालु आव २०८२/८३ मा पैदल बाटो निर्माणका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको बताइएको छ।

Leave A Reply

Your email address will not be published.