आज बालाचतुर्दशी : देशभरका शिव मन्दिरमा दीपदान र शतबीज छर्नेको भिड

आज बालाचतुर्दशी, पशुपतिनाथ मन्दिरलगायत देशभरका शिव मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। आजका दिन दीपदान र शतबीज छर्ने गरिन्छ। रातभर दीपदान गरी बसेका भक्तजनले आज बिहानै दिवंगत पितृको नाममा शतबीज छर्ने गर्छन्।

हरेक वर्ष मंसिर कृष्ण चतुर्दशीका दिन बाला चतुर्दशी मनाउन देशका विभिन्न ठाउँबाट भक्तजन पशुपतिमा आउने गर्छन्। हिजो बेलुकादेखि नै पशुपति क्षेत्रमा भक्तजनको घुइँचो लागेको हो। बालाचतुर्दशीको अघिल्लो दिन पितृका नाममा बत्ती बालेर रातभर जाग्राम बसेकाहरुले आज बिहानै शतबीज छरेका छन्।

धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो गरी सात प्रकारका अन्न मिसाइएको शतबीज छर्ने चलन छ। चिसो मौसम भएकाले पाललगायतको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

यस्तै भक्तपुरको डोलेश्वर महादेव मन्दिरदेखि गोकुलधामसम्मका महादेव मन्दिरसम्म रातभर जाग्राम बसेर महादीप बाल्नेको भीड छ। बाला चतुर्दशीका दिन शतबीज छर्न पशुपति मन्दिरमा हजारौँको भीड लाग्ने भएपछि भक्तपुरको चाँगुनारायण र सूर्यविनायकका बासिन्दाले आफ्नो नजिकको शिवालयमै बालाचर्तुदशी पर्व मनाउन थालेका हुन्।

यस्तै देवघाटमा तनहुँ, चितवनसहित गोरखा, लमजुङ, नवलपुर, रुपन्देही, काठमाण्डौलगायतका जिल्लाबाट शतबीज छर्न पुगेकाहरुले शतबीज छरेका छन्।

Leave A Reply

Your email address will not be published.