दार्चुलामा यस वर्ष स्याउ उत्पादन घटेको छ। गत वर्ष करिब २ हजार २ सय मेट्रिक टन स्याउ उत्पादन भएकोमा यस वर्ष मात्र १ हजार ३ सय मेट्रिक टन उत्पादन भएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ दार्चुलाका प्रमुख कमल तामाङले जानकारी दिए।
असिनापानीका कारण यस वर्ष उत्पादनमा ठूलो कमी आएको बताइएको छ। दार्चुलामा जिल्लामा स्याउको उत्पादकत्व ८.३५ मेट्रिक टन प्रति हेक्टर रहेको उनले बताए।
दार्चुलाको अपिहिमाल गाउँपालिका, नौगाड गाउँपालिका, व्याँस गाउँपालिका र मार्मा गाउँपालिकामा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत स्याउ खेती विस्तार भइरहेको छ। व्याँसको छाङरु, नौगाडको जात्रा र मानाकोट, अपिहिमालको पाथा, खण्डेश्वरी र लिथिमा स्याउ उत्पादन भइरहेको छ।
तामाङका अनुसार राम्रो उत्पादन र बजार सम्भावना हुँदाहुँदै पनि अझै व्यवसायिक रुपमा स्याउ खेती फस्टाउन सकेको छैन्। दार्चुलामा उत्पादन भएको अधिकांश स्याउ स्थानीय बजारमै खपत हुने गरेको छ।