बैतडी-डोटीको जोरायल गाउँपालिका स्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ बुधवार देखि सुरु भएको छ ।
२० गतेसम्म सञ्चालन हुने प्रतियोगिता जोरायल–४ कुँडिकोट स्थित घण्टेश्वर माध्यमिक विद्यालयको खेलमैदानमा भव्यरूपमा आयोजना गरिएको हो। उद्घाटन समारोहको अध्यक्षता आयोजक विद्यालयका विद्यालय व्यवस्थापन समिति सुनलाल थापाले गरेका छन्।
कार्यक्रममा गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले प्रमुख अतिथिको रूपमा उपस्थित भएर प्रतियोगिताले विद्यार्थीको शारीरिक, मानसिक र सांस्कृतिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताउँदै विद्यालयस्तरमै यस्ता गतिविधि निरन्तर गर्नुपर्नेमा जोड दिनुभयो। त्यस्तै, विशेष अतिथिका रूपमा उपस्थित गाउँपालिका उपाध्यक्ष जमुना बोहराले खेलकुदले अनुशासन, सहकार्य र नेतृत्व विकासमा ठूलो भूमिका खेल्ने भएकाले प्रत्येक विद्यालयले खेलकुदमा विद्यार्थीको सहभागिता बढाउनुपर्ने बताइन्।
शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख तेज बहादुर खत्रीले गुणस्तरीय शिक्षासँगै खेलकुदलाई समानरूपमा प्राथमिकता दिइनुपर्ने उल्लेख गर्दै यस वर्ष प्रतियोगिता अझ व्यवस्थित र पारदर्शी ढंगले सञ्चालन हुँदै असल्याले उत्कृष्ट प्रतिभा पहिचान हुनेमा आशावादी रहेको बताउनुभयो। प्रतियोगितामा विभिन्न वडाका वडा अध्यक्ष, जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक तथा शिक्षक, सुरक्षाकर्मीको सहभागीता रहेको छ । पालिकाका११ वटा माध्यमिक विद्यालयका विद्यार्थी खेलाडीहरूको उल्लेखनीय उपस्थिति रहेको गाउँपालिकाले जनाएको छ।