बैतडी : मेलौलीमा विज्ञान प्रदर्शनी गरिएको छ। मेलौली नगरपालिका–०७ काडाँमा रहेको मणिलेक माध्यमिक विद्यालयमा सञ्चालित विज्ञान विषय प्रवर्दन कार्यक्रमको आयोजनामा एकदिने विज्ञान प्रदर्शनी सम्पन्न भएको हो।
मेलौली नगरपालिकाका नगर उपप्रमुख पार्वती बोहरा बिष्टको प्रमुख आतिथ्यमा विज्ञान प्रदर्शनी कार्यक्रम उद्घाटन गरिएको प्रधानाध्यापक देवदत्त कलौनीले बताउनुभयो। विद्यार्थीलाई प्रायोगात्मक, वैज्ञानिक, व्यवहारिक, जीवनोपयोगी र अनुसन्धानात्मक शिक्षा दिन प्रदर्शनीको आयोजना गरिएको प्रधानाध्यापक कलौनीले जानकारी दिनुभयो।
प्रदर्शनीमा मणिलेक माविसगैं धर्मघर मावि सलेना, केदारेश्वर मावि दुर्गास्थान र बिरेन्द्र मावि साहिलेकका विद्यार्थीहरुले प्रदर्शनी गरेका थिए। प्रदर्शनीमा ३५ वटा स्टलहरू राखिएको विज्ञान शिक्षक नेटवर्क संयोजक रमेश कुमार जोशीले बताउनुभयो। प्रदर्शनीमा अवलोकन गर्न मेलौली नगरपालिकाका सबै माध्यमिक विद्यालयबाट विद्यार्थीहरु आएको जनाईएको छ।
प्रदर्शनीमा विज्ञान तथा प्रविधिसँग अभिरुचि राख्ने विद्यार्थीहरू तथा अभिभावकहरूको उत्साहजनक सहभागिता रहेको थियो। विज्ञान प्रदर्शनीले विद्यार्थीहरुको सिकाई थप आकर्षित हुने प्रधानाध्यापक कलौनीले बताउनुभयो। प्रदर्शनीमा शिक्षक, विद्यार्थी, अभिभावक, मेलौली नगरपालिकाका कार्यपालिका सदस्य, वडाध्यक्षहरु, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, सुरक्षाकर्मी र सञ्चारकर्मी लगायत स्थानीयहरुको बाक्लो उपस्थिति रहेको थियो।