बैतडीको पञ्चेश्वरमा गाउँपालिकाले प्रमाणीकरण गरेकाको जग्गा नाप जाँच शुरु

बैतडी: भूमी समस्या समाधान आयोग जिल्ला समिति बैतडीले पञ्चेश्वरमा जग्गा नाप जाँच शुरु गरेको छ। पालिकाभित्र रहेका भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीका लागि जग्गा नाप जाँच शुरु गरिएको भूमि समस्या समाधान आयोग जिल्ला समिति बैतडीका अध्यक्ष रमेशदत्त पाण्डेयले बताउनुभयो।

पञ्चेश्वर गाउँपालिकाले प्रमाणीकरण गरेका परिवारहरुको लागि जग्गा नाप जाँच शुरु गरिएको हो। गाउँपालिकाले जमीन एकीन गर्नुका साथै भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीको प्रमाणीकरण गरेपछि जग्गा नाप जाँचको काम अगाडि बढेको अध्यक्ष पाण्डेयले बताउनुभयो। पञ्चेश्वर गाउँपालिकाको वडा नं १, ३ र ४ मा जग्गा एकीन र प्रमाणीकरणको काम सकिएकाले वडा नं।१ बाट जग्गा नाप जाँचको काम शुरु गरिएको हो।

बिहीबार मात्रै गाउँ कार्यपालिकाले जग्गा नाप जाँचका लागि भूमि समस्या समाधान आयोग जिल्ला समितिलाई लिखित पत्राचार गरेको थियो। सोही अनुसार आजदेखि नाप जाँच कार्य शुरु भएको अध्यक्ष पाण्डेयले बताउनुभयो।

वडा नं १ मा आज एक कार्यक्रमको आयोजना गरेर जग्गा नाप जाँच कार्य शुरु गरिएको छ। उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्द, उपाध्यक्ष बिना भट्ट, आयोगकाविज्ञ सदस्य जगदीश नायक, भूमि अधिकारकर्मी नरीराम लुहार लगायतको उपस्थिती रहेको थियो।

पञ्चेश्वर गाउँपालिकामा जग्गा नाप जाँचका लागि एक जना सर्वेक्षक र चार जना अमीन गरि पाँच जना प्राविधिकको टोली खटाएको अध्यक्ष पाण्डेयले बताए। पञ्चेश्वर गाउँपालिकाभित्र ५ सय ४१ परिवार भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासी रहेका तथ्यांक छ।

जग्गा नाप जाँच पछि फिल्ड बुक र श्रेष्ता तयार पारेर उनीहरुलाई लालपूर्जा वितरण गरिने भूमि समस्या समाधान आयोग जिल्ला समितिका अध्यक्ष पाण्डेयले बताउनुभयो। चालु आर्थिक बर्षको अन्त्यसम्म आयोगको जिल्ला समितिले ७५ प्रतिशत काम सम्पन्न गर्ने लक्ष्य राखेको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.