बैतडीमा नेपाली सेनाद्वारा एतिहासिक चौतारो र बाटो निर्माण

बैतडी: नेपाली सेनाले बैतडीको देवलहाटमा रहेको एतिहासिक पिपल चौतारोलाई पुनः निर्माण गरी स्थानीयलाई हस्तान्तरण गरेको छ। नेपाल एकीकरणकाली इतिहाँस बोकेको उक्त पिपल चौतारी पुनः निर्माण र त्यहाँ रहेको शिलालाई व्यवस्थित गरि नेपाली सेनाको बैतडीस्थित श्रीबक्स गुल्मले स्थानीयलाई हस्तान्त्रण गरेको हो।

एतिहासिक पिपल चौतारो
दशरथचन्द नगरपालिका– ४ देवलहाटमा रहेको यो चौतारो ऐतिहासिक रहेको र नेपाली सेनाको शीघ्र प्रभावी योजना अन्तर्गत पुनःनिर्माण गरिएको श्रीबक्स गुल्मका गुल्मपति सफल थापाले बताउनुभयो। यस्तै श्रीबक्स गुल्मले सोही ठाउँमा रहेको बामुनी बामुनी आमा मन्दिर जाने बाटो समेत निर्माण गरेको छ।

नेपाल एकीकरणको समयमा भारतको अल्मोडाबाट ४५ किलोमिटर उत्तरतर्फ गणनाथ मन्दिर नजिक अंग्रेजसँगको लडाईँमा विरगती प्राप्त गरेका हस्तिदल शाह र उनका छोरा नन्दुको काजक्रिया यसै पीपलको रुखमुनि गरिएको थियो। जुन कुरा यहाँ रहेको शिलालेखमा उल्लेख गरिएको छ। साके संवत १७३७ मा हस्तिदल शाह र उनका छोराले विरगती प्राप्त गरेपछि उनकी श्रीमती सति गएकी थिइन्। महाकाली नदीमा दाहसंस्कार गरिएका उनीहरुको काजक्रिया भने यसै ठाउँमा गरिएको बताइएको छ। ऐतिहासिक शिलासहितको चौतारो भएकाले नेपाली सेनाले पुनःनिर्माण गरेको गुल्मपति थापाले बताउनुभयो।

पश्चिमी क्षेत्रमा बहादुर शाहाका सेनासँग लामो लडाईँ लड्ने राजाका रुपमा परिचित झुलिचनले राज गरेको कुल्लेककोट समेत यसै पीपल चौतारी नजिकै छ। पौराणिक महत्व बोकेका सप्तदेवल समेत रहेको यस क्षेत्रको पौराणिक एवं एतिहाँसिक महत्व रही आएको छ।

नेपाली सेनाले स्थानीयको आग्रह अनुसार जीर्ण चौतारो र बामुनीआमा मन्दिर जाने बाटो निर्माण गरेपछि यहाँका स्थानीय समेत खुसी भएका छन्। छोटो समयमा नेपाली सेनाले राम्रो काम गरेको स्थानीयहरुको भनाइ रहेको छ। ‘हाम्रो आग्रहलाई स्वीकार गर्दै नेपाली सेनाले छोटो समयमा चौतारो निर्माण गरी हामीलाई हस्तान्त्रण गर्दा खुसि लागेको छ।’ स्थानीय इश्वरीदत्त भट्टले भन्नुभयो, ‘अब यहाँ गौरा पर्व, मेला लगायत सार्वजनिक छलफल तथा बैठक बस्न सजिलो हुने छ।’

सडक पुग्नुभन्दा पहिले नुनतेलका लागि बझाङ, बाजुरा, अछाम, दैलेक, कालीकोट सम्मका बटुवाहरुको समेत यो ठाउँ विश्रामस्थल थियो। यहाँ नजिकै रहेका सप्तदेवलहरुमा समेत पुराना तरवार र भाँडाकुडाहरु छन्। जो संरक्षणको अभावमा नष्ट हुँदै गएका बताइएको छ। पुनः निर्माण गरिएको चौतारो आज एक कार्यक्रमकाबीच स्थानीयहरुलाई हस्तान्तरण गरिएको गुल्मपति थापाले बताउनुभयो।

Leave A Reply

Your email address will not be published.