बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशीलको सूचीमा रहेका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिनिधि सभा सदस्य निर्वाचनका लागि सुरक्षा दृष्टिकोणले १२९ मध्ये ३३ मतदानस्थललाई अतिसंवेदनशील सूचीमा राखिएको हो।
जिल्ला सुरक्षा समितिले अवस्था हेरेर अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा वर्गीकरण गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो। जिल्लाका २८ ओटा मतदानस्थल संवेदनशील र ६८ ओटा मतदानस्थल समान्यको सूचीमा रहेका उहाँले बताउनुभयो।
विगतमा भएका निर्वाचनको समीक्षा, संञ्चार, यातायातको पहुँच र विभिन्न राजनीतिक दलको प्रभावजस्ता विषयहरूलाई आधार मानेर मतदानस्थलको संवेदनशीलता तय गरिएको हो। आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई मध्यनजर गरेर स्थानीय प्रशासनले सुरक्षा योजना बनाएर काम गरिरहेको छ।
मतदानस्थलको अवस्था हेरेर सुरक्षा योजना निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताउनुभयो। दुर्गम स्थानमा रहेका मतदानस्थलहरुको अनुगमन निरीक्षण गर्ने काम समेत भइरहेको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो।
“निर्वाचनका बेला स्रोतसाधनको व्यवस्थापन र जनशक्ति परिचालनका लागि सुरक्षा समितिले मतदानस्थलको निरीक्षण गरिरहेको हो।”, प्रजिअ पौडले भन्नुभयो, “सुरक्षा योजना लागू गर्न दुर्गम क्षेत्रका मतदानस्थलहरुको अनुगमनको काम भैरहेको छ।”
प्रतिनिधि सभा निर्वाचनका लागि एक निर्वाचन क्षेत्र रहेको बैतडीमा २१४ मतदान केन्द्र र १२९ मतदानस्थल कायम रहे जिल्ला निर्वाचन कार्यालय बैतडीका प्रमुख खगेन्द्र भारतीले जानकारी दिनुभयो। २१ फागुनमा हुने निर्वाचनका लागि एक लाख ५६ हजार ३७२ मतदाता कायम भएका उहाँले बताउनुभयो।