बैतडी : मेलौलीमा आजबाट दुईदिने आँखा शिविर सुरु भएको छ। तल्लोस्वराड क्षेत्रका तीनओटा स्थानीयतहको रेफरल सेन्टरको रुपमा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा आजबाट दुईदिने निःशुल्क आँखा शिविर सञ्चालन भएको हो।
नेपाल नेत्र ज्योति संघ गेटा आँखा अस्पताल गेटा कैलाली र मेलौली नगरपालिकाको साझेदारीमा आँखा शिविर सञ्चालन भएको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रका जनस्वास्थ्य निरीक्षक मुकेशकान्त दयालले बताउनुभयो। शिविरको मेलौली नगरपालिकाका नगर प्रमुख भिम बहादुर चन्द, प्रमुख प्रशासकीय अधिकृत दल बहादुर धामि, वडा न ७ का वडाअध्यक्ष रामचन्द्र भट्ट र गेटा आँखा अस्पतालका प्रतिनिधिहरुको उपस्थितिमा उद्घाटन गरिएको छ।
शिविरमा मोतिबिन्दु लगायत आँखाको निःशुल्क शल्यक्रिया, औषधी र चस्मा वितरण गरिने बताउनुभयो। आवश्यक्ता बाहेकका अन्यलाई सुपथ मुल्यमा समेत चस्मा वितरण गरिने जनाईएको छ।
मेलौलीमा आँखा शिविर सञ्चालनका लागि मेलौली नगरपालिका र नेपाल नेत्र ज्योति संघ गेटा आँखा अस्पताल गेटा कैलाली बिच सम्झौता गरिएको थियो। दुर्गम क्षेत्रका नागरिकलाई सेवा दिने उदेश्यले शिविरको आयोजना गरिएको नगर प्रमुख भिम बहादुर चन्दले बताउनुभयो। आज र भोली आँखाको समस्या भएकाहरुलाई सेवा लिन नगर प्रमुख चन्दले आग्रह गर्नुभएको छ।