बैतडीको मेलौलीमा आजबाट दुईदिने आँखा शिविर सञ्चालन भएको छ। तल्लोस्वराड क्षेत्रका तीनओटा स्थानीयतहको रेफरल सेन्टरको रुपमा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा आजबाट दुईदिने निःशुल्क आँखा शिविर सञ्चालन भएको हो।
शिविर सञ्चालनको पहिलो दिन आज २८३ जना महिला र २२३ जना पुरुषको आँखा परिक्षण गरिएको छ। यसैगरी २० जना महिला र २८ जना पुरुषको आँखाको मोतिविन्दुको शल्यक्रिया गरिएको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रका जनस्वास्थ्य निरीक्षक मुकेशकान्त दयालले बताउनुभयो। शिविरमा निःशुल्क चस्मा पनि वितरण गरिएको छ। १०७ जना महिला र १२१ जना पुरुषलाई चस्मा वितरण गरिएको जनाईएको छ।
नेपाल नेत्र ज्योति संघ गेटा आँखा अस्पताल गेटा कैलाली र मेलौली नगरपालिकाको साझेदारीमा आँखा शिविर सञ्चालन भएको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रका जनस्वास्थ्य निरीक्षक दयालले बताउनुभयो। शिविरको मेलौली नगरपालिकाका नगर प्रमुख भिम बहादुर चन्द, प्रमुख प्रशासकीय अधिकृत दल बहादुर धामि, वडा न ७ का वडाअध्यक्ष रामचन्द्र भट्ट र गेटा आँखा अस्पतालका प्रतिनिधिहरुको उपस्थितिमा उद्घाटन गरिएको थियो।
मेलौलीमा आँखा शिविर सञ्चालनका लागि मेलौली नगरपालिका र नेपाल नेत्र ज्योति संघ गेटा आँखा अस्पताल गेटा कैलाली बिच सम्झौता गरिएको थियो। दुर्गम क्षेत्रका नागरिकलाई सेवा दिने उदेश्यले शिविरको आयोजना गरिएको नगर प्रमुख भिम बहादुर चन्दले बताउनुभयो।
शिविर भोलीपनि सञ्चालन हुने भएकाले आँखाका समस्या भएकाहरुले सेवा लिनहुन अनुरोध गरिएको छ।