बैतडीको मेलौलीमा सञ्चालित निःशुल्क आँखा शिविर सम्पन्न

बैतडीको मेलौलीमा हिजोबाट सञ्चालन भएको दुईदिने आँखा शिविर सम्पन्न भएको छ। तल्लोस्वराड क्षेत्रका तीनओटा स्थानीयतहको रेफरल सेन्टरको रुपमा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालन भएको शिविर सम्पन्न भएको हो।

नेपाल नेत्र ज्योति संघ गेटा आँखा अस्पताल गेटा कैलालीको आयोजना, सेवा फाउण्डेसनको आर्थीक सहयोग र मेलौली नगरपालिकाको साझेदारीमा आँखा शिविर सञ्चालन भएको गेटा आँखा अस्पतालका नेत्र अधिकृत नरेन्द्रराज बिष्टले बताउनुभयो। दुईदिने शिविरबाट धेरैजना नागरिकहरुले सेवा लिनुभएको उहाँले जानकारी दिनुभयो।

शिविरबाट ४४४ महिला र ३३५ पुरुष गरि ७७९ जनाको आँखा परिक्षण गरिएको छ। जसमध्ये ३८ महिला र ३१ पुरुषको मोतिबिन्दुको सफल शल्यक्रिया गरिएको नेत्र अधिकृत बिष्टले जानकारी दिनुभयो। यसैगरी ७०८ जनालाई निःशुल्क औषधि र ४७५ जनालाई चस्मा वितरण गरिएको जनाईएको छ।

मेलौलीमा शिविर सम्पन्न भएसगैं दार्चुलाको महेन्द्र नमुना मावि खलङ्गा र बैतडीको दोगडाकेदारमा शिविर सञ्चालन गरिने छ। दार्चुलाको खलङ्गामा यहि माघ १०, ११ र १२ गते, दोगडाकेदारको खोचलेकमा १४ र १५ गते शिविर सञ्चालन गरिने जनाईएको छ।

मेलौलीमा आँखा शिविर सञ्चालनका लागि मेलौली नगरपालिका र नेपाल नेत्र ज्योति संघ गेटा आँखा अस्पताल गेटा कैलाली बिच सम्झौता गरिएको थियो। दुर्गम क्षेत्रका नागरिकलाई सेवा दिने उदेश्यले शिविरको आयोजना गरिएको नगर प्रमुख भिम बहादुर चन्दले बताउनुभयो।

Leave A Reply

Your email address will not be published.