बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा लामो समयपछि हिमपात

बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा लामो समयपछि हिमपात भएको छ। हिजो रातिदेखि परेको हिउँदे झरी तथा हिमपातले जिल्लाका डाँडाकाँडा सेताम्य बनेका छन्।

बैतडी जिल्लाको मेलौलीका केहि भाग, सतबाँझ–मुस्याचोर,खोड्पे क्षेत्रसहित आसपासका स्थानमा हिमपात भएपछि मौसम अत्यन्तै चिसो बनेको छ। यस क्षेत्रबाट बैतडीका प्रसिद्ध धार्मिक स्थल ग्यालेक घुरा, रौलाकेदार, निङ्गलाशैनी भगवती देहिमाण्डौं लगायतका स्थानहरू स्पष्ट रूपमा देखिएका छन् । हिमपातले यी धार्मिक तथा प्राकृतिक स्थलहरूलाई थप आकर्षक बनाएको छ।

लामो समयपछि परेको हिमपात कृषकहरूका लागि भने लाभदायक हुने अपेक्षा गरिएको छ। हिउँ पग्लिएपछि माटोमा चिस्यान कायम रहने भएकाले गहुँ, जौं, आलु लगायतका हिउँदे बालीका लागि फाइदा पुग्ने स्थानीय कृषकहरूले बताएका छन्।

यद्यपि हिमपात र चिसोका कारण बैतडीमा विद्युत सेवा अवरुद्ध भएको छ। हावाहुरी तथा चिसोले विद्युत प्रसारण लाइनमा समस्या आएपछि केही क्षेत्र अन्धकारमा बस्न बाध्य भएका छन्। हिमपातका कारण जनजीवन केही प्रभावित भए पनि प्राकृतिक रूपमा भने बैतडी लगायत सुदूर पहाडी जिल्लाहरू अहिले निकै सुन्दर देखिएका छन्।

Leave A Reply

Your email address will not be published.