पत्रकार महासंघ सुदूरपश्चिमको बैठक सम्पन्न, ६ बुँदे दोगडाकेदार घोषणापत्र जारी

बैतडी: नेपाल पत्रकार महासंघ सुदूरपश्चिम समितिको बैठक बैतडीको दोगडाकेदारमा सम्पन्न भएको छ। शनिबार सम्पन्न भएको बैठकले ६ बुँदे घोषणापत्र जारी गरेको पत्रकार महासंघ सुदूरपश्चिमका अध्यक्ष भरत शाहले बताए ।

बैठकले आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचन अवधिमा निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न प्रदेशभरीका सञ्चारकर्मी र मिडिया हाउसहरुलाई आग्रह गर्ने निर्णय गरेको छ। यस्तै स्थानीय तहहरुलाई सञ्चार माध्यम प्रवद्र्धन कार्यविधि बनाउन अनुरोध गर्ने निर्णय बैठकले गरेको महासंघका महासचिव शिवराज भट्टले बताए।

सुदूरपश्चिमको दिगो विकाससँग जोडिएको पश्चिम सेती परियोजना, पञ्चेश्वर परियोजना, झुलाघाटमा मोटरेबल पुल निर्माणका लागि दबाब सिर्जना गर्ने घोषणापत्रमा उल्लेख गरिएको छ। यस्तै महाकाली करिडोरको कामलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सरकारलाई दबाब दिने घोषणापत्रमा उल्लेख गरिएको छ।

बैतडी जिल्लाभित्र रहेका धार्मिक तथा पुरातात्विक सम्पदाहरुको प्रचार–प्रसार, संरक्षण र आवश्यक संरचना निर्माण गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्ने कुरा उल्लेख गरिएको छ। दोगडाकेदार गाउँपालिकामा रहेको फस्फोराइड खानीको उत्खनन र सम्भावित सिमेन्ट खानीको प्रशोधनका लागि उचित वातावरणको सिर्जना गर्न सरकारलाई दबाब दिने कुरा महासंघको घोषणापत्रमा उल्लेख गरिएको छ। यस्तै पुरातात्विक सम्पदाहरुको अभिलेखीकरण गर्ने कुरा समेत महासंघको ६ बुँदे घोषणापत्रमा उल्लेख गरिएको छ।

महासंघको प्रदेश समिति बैठकपछि जारी गरिएको घोषणापत्रमा उल्लेख गरिएका कुराहरु कार्यान्वयनका लागि सम्बन्धित निकायलाई दबाब दिइने महासंघका महासचिव भट्टले बताए। नेपाल पत्रकार महासंघ सुदूरपश्चिम समितिका अध्यक्ष भरत शाहको अध्यक्षतामा भएको बैठकमा महासंघका केन्द्रीय सदस्य, प्रदेश समितिका पदाधिकारी र सदस्य, सल्लाहकार, विभिन्न जिल्लाका अध्यक्ष लगायतको उपस्थिती रहेको थियो।

Goshanparta-1769862300.jpg

Leave A Reply

Your email address will not be published.