प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी : प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा बैतडीले शानदार सुरूआत गरेको छ।

फाप्ला मैदानमा आज सम्पन्न खेलमा बैतडीले दार्चुलामाथि १२८ रनको फराकिलो जित दर्ता गर्यो। बैतडीले दिएको २३७ रनको लक्ष्य पछ्याएको दार्चुला ३६।२ ओभरमा १०८ रनमा सीमित रह्यो। उसका लागि वीरेन्द्र बमले २५ तथा जीवन कार्की र केशरसिंह खातीले १३र१३ रनको योगदान दिए। बलिङतर्फ बैतडीका हिक्मत महराले ५ तथा लोकेन्द्र चन्दले २ विकेट लिए।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको बैतडीको पारी ३८ ओभरमा २३६ रनमा समेटियो। उसका लागि आयुश चन्दले ४०, दिपक बोहराले ३७ र खडक बोहराले ३६ रन बनाए। बलिङतर्फ दार्चुलाका नरेन्द्र महरा र वीरेन्द्र बमले ३र३ तथा लवराज जोशीले २ विकेट लिए। बैतडीका हिक्मत महरा ‘प्लेयर अफ दी म्याच’ घोषित भए।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको आयोजनामा सञ्चालन भइरहेको उक्त प्रतियोगितामा प्रदेशका ८ जिल्ला सहभागी रहेका प्रदेश क्रिकेट सङ्घका सचिव लक्ष्मणदत्त भट्टले बताए। प्रदेश छनोटपछि राष्ट्रिय क्रिकेट खेल्न सुदूरपश्चिमको टोली छनोट गरिनेछ।

Leave A Reply

Your email address will not be published.