गरिब र जेहेन्दार विद्यार्थीलाई कपडा बैंक बैतडीको न्यानो साथ

बैतडी: कपडा बैंक बैतडीले एक विद्यालयका विद्यार्थीहरुलाई झोला वितरण गरेको छ।

जिल्लाको शिवनाथ गाउँपालिका वडा नं ६ स्थित जिम्मेश्वर आधारभूत विद्यालयमा अध्ययनरत विपन्न बालबालिकाहरुलाई झोला वितरण गरिएको कपडा बैंक बैतडीका सञ्चालक महेशदत्त भट्टले जानकारी दिनुभयो।

विद्यालयको ४३ औं बार्षिकोत्सवको अवसरमा विद्यालयमै पुगेर विपन्न परिवारका बालबालिकाहरुलाई झोला वितरण गरिएको उनले बताउनुभयो। यस्तै विद्यालयका प्रधानाध्यापक अर्जुन धनाडीले विपन्न बालबालिकाहरुलाई विद्यालय पोशाक उपलब्ध गराएका छन्।

कपडा बैंक बैतडीले विपन्न परिवारका बालबालिकाहरुलाई विद्यालय पोशाक, झोला, न्यानो लुगा वितरण गर्दै आएको छ। अहिलेसम्म विभिन्न विद्यालयमा अध्ययनरत ५ सय ८० जना बालबालिकाहरुलाई विद्यालय पोशाक, झोला र न्यानो लुगा वितरण गरिसकेको सञ्चालक भट्टले बताउनुभयो।

विद्यालय पोशाक, झोलाकै अभावमा बालबालिकाहरुलाई पठनपाठनमा समस्या नहोस भनेर कपडा बैंकले अभियानमार्फत यो काम गरिरहेको भट्टको भनाइ छ।

जिम्मेश्वर आधारभूत विद्यालयका विपन्न बालबालिकाहरुलाई कपडा बैंकले गरेको सहयोग निकै महत्वपूर्ण रहेको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताउनुभयो। सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारमा समाजका सबै पक्षको सहयोग आवश्यक रहेको उनले बताउनुभयो।

Leave A Reply

Your email address will not be published.