बैतडी: चुनावी सुरक्षालाई मध्यनजर गर्दै बैतडीको पाटनमा सशस्त्र प्रहरी बल नेपालले निर्वाचन सुरक्षा बेश स्थापना गरेको छ।
सशस्त्र प्रहरीको चुनावी सुरक्षा रणनीति अनुसार बैतडीको पाटनमा सुरक्षा बेश स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५१ गुल्म हेडक्वाटर बैतडीका गुल्मपति जंगबहादुर कुँवरले बताए। सुदूरपश्चिमका १६ ओटै निर्वाचन क्षेत्रमा सुरक्षा बेश स्थापना गरिएसँगै बैतडीको पाटनमा पनि सुरक्षा बेश स्थापना गरिएको कुँवरले बताए।
पाटनमा स्थापना गरिएको बेशमा सशस्त्र प्रहरी नायब उपरीक्षक शंकर धामीको नेतृत्वको ३५ जनाको टोली खटाइएको छ। उक्त बेशमा निर्वाचन हुनु १५ दिन अगाडि थप जनशक्ति परिचालन गरिने गुल्मपति कुँवरले बताए।
आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सशस्त्र प्रहरीले सुरक्षा बेश स्थापना गरेको हो। प्रतिनिधि सभा सदस्यका लागि बैतडीमा एक निर्वाचन क्षेत्र रहेको छ। प्रतिनिधि सभा सदस्यका लागि एक स्वतन्त्रसहित ११ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन्।