बैतडीः मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यले बैतडीमा दशैवटै स्थानीयतहका प्रमुख प्रशासकीय अधिकृत तथा मतदाता शिक्षा अनुगमनकर्ताहरुबीच बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
जिल्लामा आगामी निर्वाचनलाई लक्षित गर्दै सञ्चालन गरिने मतदाता शिक्षा अभियानलाई एकरूपता दिने, समुदायसम्म सही सूचना पु¥याउने र मतदातामा सचेतना अभिवृद्धि गर्ने विषयमा बैठक केन्द्रित रहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी नरेश दयालले जानकारी दिनुभयो।
बैठकमा दशओटै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र मतदाता शिक्षा अनुगमनकर्ता गरि २० जना सहभागि भएका थिए। बैठक जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी खगेन्द्र भारतीको संयोजकत्वमा सम्पन्न भएको हो।
बैठकले दशओटै स्थानीयका प्रत्येक वडामा एकजना मतदाता स्वयंमसेवक नियुक्ता गर्ने निर्णय गरेको छ। नियुक्त गरिएको स्वयंमसेवकले फागुन ३ गतेदेखी १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम गाउँ–गाउँसम्म प्रभावकारी रूपमा पु¥याउन समन्वय, अनुगमन र सहकार्यलाई सुदृढ बनाउने गरि काम गर्ने जनाईएको छ।
बैठकमा मतदाता शिक्षा सञ्चालनका क्रममा देखिएका चुनौती, सम्भावित समाधान, स्थानीय तहको भूमिका तथा अनुगमनकर्ताहरूको जिम्मेवारीबारे विस्तृत छलफल भएको बताइएको छ। सहभागीहरूले सूचना प्रवाहलाई सरल, स्पष्ट र सबै वर्ग तथा समुदायले बुझ्ने खालको बनाउनुपर्नेमा जोड दिएका थिए।
बैठकले मतदाता शिक्षालाई अझ प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउन साझा कार्ययोजना तयार गर्ने निष्कर्ष निकालेको छ।