बैतडी: जिल्ला प्रशासन कार्यालय बैतडीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरेको छ।
निर्वाचनकै बीचमा महाशिवरात्री, फागू पर्वजस्ता चाडपर्व समेत परेकाले यस्ता पर्वहरु मनाउँदा धार्मिक, सांस्कृतिक अनुशासित ढंगले मनाउन आग्रह गरेको छ। प्रशासनले एक अनुरोधपत्र सार्वजनिक गर्दै चाडपर्वहरु मनाउँदा निर्वाचन सुरक्षा र आचारसंसहितालाई ध्यानमा राख्न आग्रह गरेको हो।
प्रशासनले जारी गरेको अनुरोध पत्रमा निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने र कसैले आचारसंहिताको उल्लंघन गरेको पाइएमा आचारसंहिता अनुगमन समिति, अनुगमन अधिकृतको कार्यालय र नजिकको सुरक्षा निकायमा खबर गर्न भनिएको छ। यस्तै मेला,जात्रा तथा कुनैपनि भीडभाड हुने कार्यक्रम आयोजना गर्दा स्थानीय प्रशासनको अनुमति लिनुपर्ने उल्लेख गरिएको छ।
पर्वका नाममा कसैको इच्छा विपरीतका कामहरु नगर्न र त्यसो गरेको पाइएमा कानुन अनुसार कारवाही हुने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ। यस्तै मादक पदार्थ सेवन गरी होहल्ला गर्ने,अरुलाई असर पर्ने गरी डिजे बजाउने कार्य पूर्ण रुपमा बन्द गर्न आग्रह गरिएको छ।
यस्तै फागू पर्वको समयमा कसैको इच्छा विपरीत रंग दल्ने, लोला हान्ने, फोहर छ्याप्ने लगायतका असभ्य व्यवहार नगर्न प्रशासनले सचेत गराएको छ। निर्वाचनमा सुरक्षामा खटिएका सुरक्षाकर्मी तथा कर्मचारीहरुलाई कुनै बाधा पर्ने काम नगर्न समेत आग्रह गरेको छ। प्रशासनको सूचनाको अवज्ञा गरी कसैले त्यस्ता कार्यहरु गरेको पाइएमा कानुन अनुसार कारवाही हुने बैतडी प्रशासनले जनाएको छ।
