बैतडीको पञ्चेश्वरमा परिवार योजना शिविर, १४ महिला र ५ पुरुष लाभान्वित

बैतडीमा परिवार योजना शिविर शुरु भएको छ। पञ्चेश्वर स्वास्थ्यचौकीबाट शिविरको शुरुवात गरिएको स्वास्थ्य कार्यालय बैतडीका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले जानकारी दिए।

स्वास्थ्य कार्यालय बैतडीको आयोजना र सुनौलो परिवार नेपालको प्राविधिक सहयोगमा स्थानीयस्तरमै नागरिकहरुलाई सेवा दिन शिविरको आयोजना गरिएको स्वास्थ्य कार्यालयका प्रमुख तीर्थराज भट्टले बताए। मंगलबार पञ्चेश्वर स्वास्थ्यचौकीमा सञ्चालन भएको शिविरमा १४ जना महिला र ५ जना पुरुष गरि १९ जनाले सेवा लिएको पञ्चेश्वर स्वास्थ्यचौकीका प्रमुख सुरेश सार्कीले बताए। व्यवस्थित परिवार बनाउन चाहने पुरुष तथा महिलाहरुका लागि शिविरमा निशुल्क स्थायी बन्ध्याकरण सेवा दिइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

महिलाहरुका लागि मिनिल्याप र पुरुषहरुका लागि भ्यासेक्टोमी सेवा शिविरमार्फत सञ्चालन भइरहेको खोप सुपरभाइजर निरीक्षक भट्टले बताए। यस्तै माघ २९ गते सुर्नया गाउँपालिकाको रौलेश्वर स्वास्थ्यचौकी, फागुन १ गते दोगडाकेदार गाउँपालिकाको श्रीकोट स्वास्थ्यचौकी, फागुन २ गते पुर्चौंडी नगरपालिकाको कुवाकोट स्वास्थ्यचौकी र फागुन ४ गते हाट स्वास्थ्यचौकीमा शिविर सञ्चालन गरिने खोप सुपरभाइजर निरीक्षक भट्टले जानकारी दिए।

यस्तै फागुन ६ गते सिगास गाउँपालिकाको गाँजरी स्वास्थ्यचौकी र फागुन ७ गते पाटन नगरपालिकाको सिद्धेश्वर स्वास्थ्यचौकीमा शिविर सञ्चालन हुने बताइएको छ। आफ्नो क्षेत्रमा शिविर सञ्चालन भएको समयमा सेवा लिन स्वास्थ्य कार्यालयले सबैमा अनुरोध गरेको छ। मिनिल्याप गराउन चाहने महिलाहरुले शिविर सेवा लिन आउँदा भोको पेट आउनुपर्ने र एक जना सहयोगीसहित आउनुपर्ने खोप सुपरभाइजर निरीक्षक भट्टले बताए।

यस्तै उक्त शिविरमा आवश्यकता अनुसार सुरक्षित गर्भपतन सेवा समेत दिइने बताइएको छ।

Leave A Reply

Your email address will not be published.