बैतडीः पञ्चेश्वर गाउँपालिका–०४ निङ्लाडमा अवस्थित रायपुर आधारभूत विद्यालयले शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यसहित आर्थिक सहयोगको सार्वजनिक अपिल गरेको छ। विद्यालयले विद्यार्थीहरूको पठनपाठनलाई प्रभावकारी बनाउन, निजी स्रोतका शिक्षक व्यवस्थापन गर्न तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्न आवश्यक स्रोत अभाव भएको जनाएको छ।
विद्यालय प्रधानाध्यापक भरत बहादुर चन्दका अनुसार हाल विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको सिकाइ उपलब्धि सुधार गर्न शैक्षिक सामग्रीको अभाव देखिएको छ। पाठ्यसामग्री, सन्दर्भ पुस्तक, खेलकुद सामग्री तथा सूचना–प्रविधिसम्बन्धी आधारभूत उपकरण आवश्यक रहे पनि पर्याप्त बजेट नहुँदा समस्या उत्पन्न भएको बताइएको छ।
त्यसैगरी, विद्यालयमा निजी स्रोतका शिक्षक राख्नुपर्ने अवस्था रहेकाले नियमित तलब व्यवस्थापनमा कठिनाइ भएको जनाइएको छ। “विद्यार्थीको भविष्य सुनिश्चित गर्न गुणस्तरीय शिक्षा अपरिहार्य छ, तर सीमित स्रोतका कारण चुनौती थपिएको छ,” विद्यालय स्रोतले जनाएको छ।
विद्यालयले सांस्कृतिक कार्यक्रम तथा अतिरिक्त क्रियाकलापलाई समेत प्राथमिकतामा राखेको छ। विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले विभिन्न सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने योजना रहेको भए पनि बाजागाजा लगायत सांस्कृतिक सामग्रीको अभाव देखिएको छ। यसका बाद्यबादन सामग्री खरिद गर्न आर्थिक सहयोग आवश्यक रहेको विद्यालयले स्पष्ट पारेको छ।
विद्यालय प्रशासनले देश तथा विदेशमा रहेका पूर्वविद्यार्थी, अभिभावक, समाजसेवी तथा सहयोगी मनहरूलाई आर्थिक सहयोग गर्न आग्रह गरेको छ। सानो–सानो सहयोगले पनि विद्यालयको शैक्षिक वातावरण सुधार गर्न ठूलो टेवा पुग्ने विश्वास विद्यालयले व्यक्त गरेको छ।
विद्यालयले पारदर्शी ढंगले सहयोग संकलन तथा खर्च विवरण सार्वजनिक गर्ने प्रतिबद्धता समेत जनाएको छ। सहयोग गर्न चाहेमा विद्यालयका प्रधानाध्यापक चन्दको नबिल बैंकमा रहेको खाता नम्बर ७६१००१७५०१४२८ र भारतमा रहेका शेर चन्दको फोन पे गोगुल पे नम्बर ९४९१२८३५७० मा सहयोग रकम पठाउन सकिनेछ।
यो बिषयमा आवश्यक सल्लाह सुझाव तथा केहि बुझ्नु परेमा ९८६५८६२०३५ मा सम्पर्क गर्न विद्यालयले आग्रह गरेको छ।