बैतडी : स्थानीय स्काउट कार्यालय शिवनाथ बैतडीको आयोजनामा स्काउटमा आबद्ध विद्यार्थीहरूको एकदिने पदयात्रा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। शुक्रबार शिवनाथ गाउँपालिका–०२ मा रहेको प्रसिद्ध शर्माली गढी किल्लामा एकदिने पदयात्रा आयोजना गरिएको थियो।
कार्यक्रममा नागार्जुन माध्यमिक विद्यालय शर्माली, शारदा माध्यमिक विद्यालय मटेला, चन्द्रदेवल माध्यमिक विद्यालय स्वलपला र श्रीपुर माध्यमिक विद्यालय पुडिल बछ्लाका स्काउट विद्यार्थी, स्काउट शिक्षक, प्रधानाध्यापक तथा शिक्षक–कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको श्रीपुर माध्यमिक विद्यालयका शिक्षक बिर बहादुर चन्दले बताउनुभयो।
स्थानीय स्काउट प्रमुख आयुक्त पदम सिंह साउदको अध्यक्षता तथा नागार्जुन मा.वि. शर्मालीका प्रधानाध्यापक गोपाल सिंह महताको प्रमुख आतिथ्यतामा कार्यक्रम सञ्चालन गरिएको जनाईएको छ। स्काउटका विविध प्रस्तुति, अनुशासन अभ्यास तथा प्रकृतिसँग नजिक हुने गतिविधिहरू सञ्चालन गरिएको शिक्षक चन्दले जानकारी दिनुभयो।
पदयात्राले विद्यार्थीहरूमा अनुशासन, नेतृत्व विकास, सहकार्य भावना तथा प्राकृतिक सम्पदाप्रति संरक्षण चेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुगेको छ।