मेयर कपको मैदानमा खेलसँगै सुर–तालको धमाका, यि कलाकारहरु आउदैं!

बैतडी: मेलौलीमा नगरस्तरीय मेयर कप पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगितासँगै विशेष सांस्कृतिक कार्यक्रमसमेत सञ्चालन गरिने भएको छ।

उद्घाटन समारोह पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दले गर्ने तथा समापन समारोह राष्ट्रिय सभा सदस्य रेणु चन्दले गर्ने कार्यक्रम रहेको नगर खेलकुद विकास समिति अध्यक्ष सागर भण्डारीले बताउनुभयो। प्रतियोगितासँगै दर्शकलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने भण्डारीले जानकारी दिनुभयो।

सांस्कृतिक कार्यक्रममा देउडा गायक महेश कुमार औजी, शेरी औजी, ईब्सल सन्ज्याल, लाल बहादुर धामी (अछामि बड्डो), सागर भण्डारी (सोराडी), कुमाउनी गायक नारायण सोराडी, सिता पुजारा, नारायण पुजारा र सुरेश परियार लगायतका कलाकारहरूको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ।

मेलौली नगरपालिकाको आर्थिक वर्ष २०८२÷०८३ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत प्रतियोगिता आयोजना हुन लागेको हो। नगरभित्रका विभिन्न वडाबाट टिमहरूको सहभागिता रहने र विजेता तथा उपविजेतालाई नगद पुरस्कारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ। प्रथम हुने टिमलाई नगद ३५ हजार रुपैयाँ, द्वितीयलाई २५ हजार रुपैयाँ, तृतीयलाई १५ हजार रुपैयाँ तथा चौथो स्थान हासिल गर्ने टिमलाई ८ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने जनाएको छ।

नगरपालिकाले खेलकुदको माध्यमबाट युवाहरूमा अनुशासन, आपसी सद्भाव र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने उद्देश्य राखेको जनाएको छ। प्रतियोगिताले स्थानीय खेल प्रतिभा पहिचान र प्रोत्साहनमा टेवा पुग्ने विश्वास लिइएको छ।

प्रतियोगिता फागुन ७, ८ र ९ गते सञ्चालन हुने प्रमुख प्रशासकीय अधिकृत दल बहादुर धामीले जानकारी दिनुभयो। प्रतियोगिता विजयपुर माध्यमिक विद्यालय तिताबैको प्राङ्गणमा सञ्चालन गरिनेछ।

Leave A Reply

Your email address will not be published.