बैतडीमा निर्वाचन सुरक्षाका लागि ४ सय ७ थान भरुवा बन्दुक फिर्ता

बैतडीमा ४ सय ७ थान भरुवा बन्दुक फिर्ता गरिएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले इजाजत प्राप्त हातहतियार फिर्ता बुझाउन आग्रह गरेको थियो।

स्थानीय प्रशासनले गएको माघ मसान्तसम्म इजाजत प्राप्त हातहतियार फिर्ता गर्न सूचना जारी गरेको थियो। अहिलेसम्म ४ सय ७ थान हतियारमात्रै फिर्ता बुझाएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न विभिन्न व्यक्तिका नाममा रहेका इजाजतप्राप्त हातहतियार बुझाउन आग्रह गरिएको प्रहरी निरीक्षक सिंहले बताए। इजाजत प्राप्त बन्दुक नजिकको प्रहरी कार्यालयमा बुझाउन सकिने उनले बताए। कसैले सूचना प्राप्त नगरेको भएमा अझै पनि इजाजत प्राप्त हातहतियार बुझाउन सकिने प्रहरी निरीक्षक सिंहले बताए।

आसन्न निर्वाचन सुरक्षालाई व्यवस्थित र विश्वसनीय बनाउने उद्देश्यसहित हातहतियार फिर्ता बुझाउन भनिएको हो। निर्वाचनको संवेदनशील समयमा इजाजतप्राप्त हतियार पनि सुरक्षा जोखिमका कारण बन्न सक्ने आँकलनका आधारमा यस्तो कदम चालिएको प्रशासनको भनाइ छ।

जिल्ला प्रशासन कार्यालयको अभिलेख अनुसार बैतडीमा १ हजार ८६ थान इजाजत प्राप्त हातहतियार रहेका छन्। तर ती मध्ये आधा भन्दा कममात्रै हतियार प्रहरीमा बुझाइएको छ।

निर्वाचन सुरक्षाका लागि हातहतियार बुझाउन आग्रह गरिएको र हतियार नबुझाउनेलाई कानुन अनुसार कारवाही हुने प्रहरीले जनाएको छ। बुझाइएका इजाजत प्राप्त सबै प्रकारका हातहतियार र गोलीगठ्ठा चैत २० गतेपछि सम्बन्धित व्यक्तिलाई फिर्ता गरिने प्रशासनले जनाएको छ।

Leave A Reply

Your email address will not be published.