बैतडीः पञ्चेश्वर गाउँपालिका–०४ मा रहेको केदार आधारभूत विद्यालयको भौतिक पूर्वाधार सुधार तथा समग्र विकासका लागि व्यापक आर्थिक संकलन अभियान सञ्चालन गरिएको छ। विद्यालयको जीर्ण भवन, कक्षा कोठाको अभाव तथा आवश्यक शैक्षिक सामग्री व्यवस्थापन गर्न अभियान सुरु गरिएको हो।
विद्यालय प्रशासनका अनुसार अभियानले केवल भौतिक संरचना सुधार मात्र नभई विद्यालयको सामाजिक, आर्थिक तथा शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने लक्ष्य लिएको छ। आर्थीक संकलन अभियानमा देश तथा विदेशमा रहेका शुभेच्छुक, पूर्वविद्यार्थी, अभिभावक र समाजसेवीहरूलाई सक्रिय सहभागिताका लागि प्रधानाध्यापक हिरराम ओडले आग्रह गर्नुभएको छ। प्रधानाध्यापक ओड्का अनुसार, “विद्यालयको दिगो विकासका लागि समुदायको साथ र सहयोग अपरिहार्य छ।”
त्यस्तै, विद्यालयका शिक्षक बिरेन्द्र भट्टको सक्रियतामा सामाजिक सञ्जालमार्फत अभियान सञ्चालन भइरहेको छ। डिजिटल माध्यम प्रयोग गरी पारदर्शी रूपमा सहयोग संकलन गरिँदै आएको र प्राप्त सहयोग रकमको विवरण नियमित रूपमा सार्वजनिक गरिने बताउनुभयो।
अभियान सुरु भएसँगै देश तथा विदेशबाट सहयोग आउन थालेको छ। विद्यालयले सहयोगदाताको विवरण सुरक्षित रूपमा अभिलेखीकरण गर्ने तथा सम्पूर्ण आर्थिक कारोबार पारदर्शी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।
स्थानीय अभिभावक तथा समुदायका अगुवाहरूले अभियानलाई सकारात्मक रूपमा लिँदै विद्यालयको भविष्य उज्ज्वल बनाउन सबैले हातेमालो गर्नुपर्ने बताएका छन्। विद्यालय व्यवस्थापन समितिले “सामुदायिक सहकार्यबाट शैक्षिक रूपान्तरण” भन्ने नारासहित अभियानलाई अझ प्रभावकारी बनाउँदै लैजाने जनाएको छ।