बैतडीका ८४ ओटै वडामा मतदाता शिक्षा स्वयंसेवक खटाइएको छ।
निर्वाचन आयोगको कार्यक्रम अनुसार आइतबारदेखि ८४ ओटै वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालनमा आएको जिल्ला निर्वाचन अधिकारी खगेन्द्र भारतीले बताए। प्रत्येक वडामा एकजनाका दरले मतदाता शिक्षा स्वयंसेवक खटाइएको उनले बताए।
मतदाता शिक्षा स्वयंसेवकहरुलाई आवश्यक तालिम दिएर उनीहरुलाई मतदाता शिक्षाका लागि खटाइएको जिल्ला निर्वाचन अधिकारी भारतीले बताए। मतदाता शिक्षा स्वयंसेवकहरुले नमूना मतपत्रसहित घरघरमा गएर मतदान गर्ने तरीकाका बिषयमा सिकाइरहेका जिल्ला निर्वाचन अधिकारी भारतीले बताए।
निर्वाचनमा बढीभन्दा बढी मतदाताहरुको सहभागिता गराउने र बदर मतको संख्या घटाउनका लागि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको भारतीले बताए। फागुन १७ गतेसम्म सञ्चालन हुने मतदाता शिक्षा कार्यक्रममा सहभागिताका लागि सबैलाई आग्रह गरिएको भारतीले बताए।
घरघरमा आउने मतदाता शिक्षा स्वयंसेवकहरुसँग मतदान गर्ने सही तरीकाका बारेमा सिक्न समेत उनले मतदातालाई आग्रह गरे। प्रतिनिधि सभाका लागि एक निर्वाचन क्षेत्र रहेको बैतडीमा १ लाख ५६ हजार ३७२ जना मतदाता रहेका छन्।
प्रतिनिधि सभा सदस्यका लागि ११ जना चुनावी प्रतिस्पर्धा रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।