बैतडीको मेलौली नगरपालिकामा कर्मचारी क्षमता विकास तालिम सुरु

बैतडीः मेलौली नगरपालिकामा कर्मचारीहरुको क्षमता विकास गर्ने उद्देश्यले तीन दिने तालिम सुरु गरिएको छ। हिजोबाट सुरु भएको उक्त तालिम पर्सिसम्म सञ्चालन हुने जनाइएको छ।

नगरपालिकाको सभाहलमा सञ्चालन भइरहेको तालिम मेलौली नगरपालिकाको आर्थिक सहयोग तथा दिपसन मल्टि टेक्निकल ट्रेनिङ सेन्टर प्रालि धनगढी कैलालीको प्राविधिक सहयोगमा आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत दल बहादुर धामिले बताउनुभयो।

तालिममा नगरपालिकाका विभिन्न शाखामा कार्यरत कर्मचारी तथा सबै वडाका सचिवहरुको सहभागिता रहेको छ। सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र प्रविधिमैत्री बनाउने लक्ष्यसहित अभिलेख व्यवस्थापन, योजना तर्जुमा, सार्वजनिक खरिद प्रक्रिया, आर्थिक अनुशासन, तथा सूचना प्रविधिको प्रयोग सम्बन्धी विषयमा सहजीकरण भइरहेको जनाईएको छ।

कार्यक्रमबारे जानकारी दिँदै प्रमुख प्रशासकीय धामीले कर्मचारीहरुको कार्यसम्पादन क्षमतामा अभिवृद्धि गर्न यस्ता तालिम अत्यन्त आवश्यक रहेको बताउनुभयो। उहाँले तालिमबाट सिकेका ज्ञान र सीपलाई व्यवहारमा उतार्दै नागरिकलाई छिटो, छरितो र गुणस्तरीय सेवा दिन सबै सहभागीलाई आग्रह गर्नुभयो।

तालिमका प्रशिक्षकहरुले स्थानीय तहमा सुशासन प्रवद्र्धन, उत्तरदायित्व वृद्धि र संस्थागत सुदृढीकरणका लागि निरन्तर सिकाइ र अभ्यास आवश्यक रहेको उल्लेख गरेका छन्। सहभागीहरुले पनि यस्ता कार्यक्रमले कार्यसम्पादनमा आत्मविश्वास बढाउने विश्वास व्यक्त गरेका छन्।

नगरपालिकाले आगामी दिनमा पनि कर्मचारीहरुको क्षमता विकासका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

Leave A Reply

Your email address will not be published.