फागुन २१ का लागि बैतडीमा मतपत्र र निर्वाचन सामग्री आइपुग्यो

बैतडी: प्रतिनिधीसभा सदस्य निर्वाचका लागि बैतडीमा मतपत्र र आवश्यक निर्वाचन सामग्री आइपुगेको छ। यही फागुन २१ गते हुने निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक दुवैतर्फका मतपत्र र निर्वाचन सामग्री आइपुगेको हो।

प्रत्यक्षतर्फका लागि एक लाख ६८ हजार र समानुपातिक तर्फका लागि एक लाख ७१ हजार मतपत्र आइपुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बैतडीका साहयक निर्वाचन अधिकृत बिष्णुराज पन्तले जानकारी दिनुभयो। मंगलबार दुवैतर्फका मतपत्र यहाँ आइपुगेको हो।

निर्वाचनका लागि अन्य सामग्री पनि जिल्ला आइपुगेको छ। प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि आवश्यक पर्ने निर्वाचन सामग्री आइपुगेको निर्वाचन कार्यालय बैतडीका प्रमुख खगेन्द्र भारतीले जानकारी दिनुभयो। मतपेटिका अघिल्लो निर्वाचनकै प्रयोग गरिने भएकाले त्यसबाहेक सामग्री निर्वाचन आयोगबाट आइपुगेको उहाँले बताउनुभयो।

आयोगबाट आइपुगेका सामाग्रीहरु रुजु गरेर मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएको र लगत्तै सम्बन्धित मतदान केन्द्रमा प¥याइने बताइएको छ।

निर्वाचन गराउनको लागि तयारी धमाधम भइरहेको निर्वाचन कार्यालय बैतडीले जनाएको छ। जिल्लामा १ लाख ५६ हजार ३ सय ७२ मतदाता रहेका छन्। एक निर्वाचन क्षेत्र रहेको बैतडीमा एक स्वतन्त्रसहित ११ जनाको उम्मेदवारी परेको छ। यहाँ एक अस्थायीसहित २१५ मतदान केन्द्र रहेका छन्। यस्तै १२९ मतदानस्थलमध्ये ३३ मतदानस्थल अतिसंवेदनशीलको सूचीमा रहेका छन्। जिल्लाका २८ वटा मतदानस्थल संवेदनशील र ६८ वटा मतदानस्थल समान्यको सूचीमा रहेका उहाँले बताउनुभयो।

Leave A Reply

Your email address will not be published.