बैतडीः मेलौलीमा तेस्रो नगरस्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ। मेलौली नगरपालिका–०४ स्थित विजयपुर माध्यमिक विद्यालय तिताबैको प्राङ्गणमा प्रतियोगिता सञ्चालन गरिएको हो।
प्रतियोगिताको आज एक औपचारिक कार्यक्रमबीच उद्घाटन गरिएको छ। कार्यक्रमका सभाअध्यक्ष नगरप्रमुख भिम बहादुर चन्द रहनुभएको थियो भने पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरख बहादुर चन्द प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको नगर खेलकुद विकास समिति अध्यक्ष शंकर भण्डारी(सागर)ले बताउनुभयो।
यसैगरी विशिष्ट अतिथिहरूमा नगर उपप्रमुख पार्वती बोहरा बिष्ट, प्रमुख प्रशासकीय अधिकृत दल बहादुर धामी, वडा नम्बर ९ का वडा अध्यक्ष लोकराज भट्ट, वडा नम्बर ४ का अध्यक्ष हर्क बहादुर चन्द र वडा नम्बर १ का अध्यक्ष शरदसिंह नेगीको उपस्थिति रहेको थियो।
प्रतियोगितामा नगरभित्रका ९ वटै वडाबाट टिमहरूको सहभागिता रहेको आयोजकले जनाएको छ। मेलौली नगरपालिकाको आर्थिक वर्ष २०८२÷०८३ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत प्रतियोगिता सञ्चालन गरिएको हो।
प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ३५ हजार रुपैयाँ, द्वितीयलाई २५ हजार रुपैयाँ, तृतीयलाई १५ हजार रुपैयाँ तथा चौथो स्थान हासिल गर्ने टिमलाई ८ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। साथै विजेता तथा उपविजेता टिमलाई शिल्ड, ट्रफी र प्रमाणपत्र समेत वितरण गरिने आयोजकले जानकारी दिएका छन्।
प्रतियोगिताले नगरस्तरमा खेलकुद विकास, आपसी सद्भाव तथा युवाहरूको प्रतिभा प्रोत्साहनमा टेवा पुग्ने विश्वास गरिएको छ।