बैतडीको मेलौलीमा राष्ट्रिय प्रजातन्त्र दिवस उल्लासपूर्वक मनाइयो

बैतडीः मेलौलीमा राष्ट्रिय प्रजातन्त्र दिवस विभिन्न कार्यक्रमका साथ उल्लासपूर्वक मनाइएको छ। मेलौली नगरपालिका–०७ स्थित ब्राईटफ्यूचर एकेडेमीले विशेष कार्यक्रम आयोजना गर्दै दिवस मनाएको हो।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष सरस्वती कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यार्थी, शिक्षक तथा अभिभावकहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा प्रजातन्त्र दिवसको ऐतिहासिक महत्वबारे चर्चा गरिएको थियो भने विद्यार्थीहरूले वक्तृत्वकला, कविता वाचन, देशभक्ति गीत तथा सांस्कृतिक प्रस्तुतिहरूमार्फत आफ्नो प्रतिभा प्रस्तुत गरिएको शिक्षक भुपेन्द्र भट्टले जानकारी दिनुभयो।

कार्यक्रममा बोल्दै प्रिन्सिपल दर्शन नेगीले राष्ट्रिय प्रजातन्त्र दिवसले नागरिक अधिकार, स्वतन्त्रता र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणमा सबैलाई सचेत गराउने बताउनुभयो। उहाँले विद्यालयले देशमा मनाइने विभिन्न राष्ट्रिय दिवसहरू नियमित रूपमा मनाउँदै आएको जानकारी दिँदै यसले बालबालिकाहरूको शिक्षण सिकाइलाई व्यवहारिक र प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो।

विद्यालयले यस्ता कार्यक्रममार्फत विद्यार्थीहरूमा देशप्रेम, अनुशासन, जिम्मेवारी बोध तथा सामाजिक चेतना अभिवृद्धि गर्ने लक्ष्य लिएको जनाएको छ। कार्यक्रममा सहभागी अभिभावकहरूले समेत विद्यालयको पहलको प्रशंसा गरेका थिए।

कार्यक्रम अन्त्यमा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्ता रचनात्मक कार्यक्रमलाई निरन्तरता दिइने विद्यालय प्रशासनले जनाएको छ।

Leave A Reply

Your email address will not be published.