तेस्रो नगरस्तरीय मेयर कप भलिबल प्रतियोगिता सम्पन्न, वडा नं. २ च्याम्पियन

बैतडी: मेलौली नगरपालिका–४ मा सञ्चालन भएको तेस्रो नगरस्तरीय मेयर कप खुल्ला पुरुष भलिबल प्रतियोगिता आज फाइनल खेलसँगै सम्पन्न भएको छ। नगरभित्रका ९ वटै वडाबाट टिमहरूको सहभागिता रहेको प्रतियोगिता उत्साहजनक तथा प्रतिस्पर्धात्मक बनेको थियो।

फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै वडा नं. २ को टिमले उपाधि जितेको छ भने वडा नं. ४ को टिम द्वितीय स्थान आएको छ। त्यसैगरी वडा नं. ५ ले तृतीय स्थान हासिल गरेको छ भने वडा नं.७ को टिम चौथो स्थानमा सीमित भएको नगर प्रमुख भिम बहादुर चन्दले बताउनुभयो।

प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ३५ हजार रुपैयाँ, द्वितीयलाई २५ हजार रुपैयाँ, तृतीयलाई १५ हजार रुपैयाँ तथा चौथो स्थान हासिल गर्ने टिमलाई ८ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको छ। साथै विजेता तथा उपविजेता टिमलाई शिल्ड, ट्रफी र प्रमाणपत्र समेत वितरण गरिएको आयोजकले जनाएको छ।

समापन समारोहमा प्रमुख प्रशासकीय अधिकृत दल बहादुर धामी सभाध्यक्ष र नगर प्रमुख भिम बहादुर चन्द प्रमुख अतिथि रहनुभएको थियो। यसैगरी वडा नं. १, ४ र ८ का वडा अध्यक्षहरू, विभिन्न जनप्रतिनिधि, कर्मचारी तथा खेलप्रेमी दर्शकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख चन्दले खेलकुदले युवामा अनुशासन, नेतृत्व क्षमता र सहकार्यको भावना विकास गर्ने बताएका थिए। नगरपालिकाले आगामी दिनमा पनि यस्ता खेलकुद कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

Leave A Reply

Your email address will not be published.