बैतडीः फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बैतडीमा मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि एकदिवसीय तालिम सञ्चालन गरिने भएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट प्रकाशित निर्वाचनमा खटिने कर्मचारीहरूको नामावली अनुसार मतदान अधिकृत र सहायक मतदान अधिकृत पदमा छनौट भएका कर्मचारी तथा शिक्षकहरूलाई तालिम दिन लागिएको हो।
कार्यालयका अनुसार पुर्चौडी नगरपालिका, सिगास गाउँपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र डिलाशैनी गाउँपालिका अन्तर्गतका मतदान केन्द्रमा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतका लागि फागुन १५ गते तालिम सञ्चालन हुने जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी नरेश दयालले जानकारी दिनुभयो।
त्यसैगरी सुर्नया गाउँपालिका, दोगडाकेदार गाउँपालिका, मेलौली नगरपालिका, पाटन नगरपालिका र दशरथचन्द नगरपालिका अन्तर्गतका मतदान केन्द्रमा खटिने कर्मचारीहरूका लागि फागुन १६ गते तालिम तय गरिएको छ। तालिम वीरेन्द्र मावि शाहिलेकमा बिहान ९ बजेदेखि सुरु हुने कार्यालयले जनाएको छ।
निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्न आवश्यक प्रक्रिया, मतदान सञ्चालन विधि र जिम्मेवारी सम्बन्धी विषयमा तालिम दिइने जनाइएको छ।