बैतडी: मेलौलीमा केही दिनअघि निधन भएका निर्वाचन प्रहरी राजेन्द्र प्रसाद भट्टको परिवारलाई आर्थिक तथा भावनात्मक सहयोग प्रदान गरिएको छ। मेलौली नगरपालिका–६ निवासी ३८ वर्षीय भट्टको घरमै पुगेर सहयोग गरिएको हो।
ईलाका प्रहरी कार्यालय मेलौलीका इन्चार्ज नरेन्द्र बहादुर चन्दसहित नेपाल प्रहरी र निर्वाचन सुरक्षामा खटिएका प्रहरीको संयुक्त टोलीले ८ हजार ५ सय १५ रुपैयाँ सहयोग हस्तान्तरण गरेको जनाएको छ। साथै शोकमा रहेका परिवारजनलाई सम्झाइ–बुझाइ गर्दै सान्त्वना प्रदान गरिएको थियो।
भट्ट फागुन ११ गते साँझ ड्युटी सकेर घर फर्किएपछि अचानक घरमै बेहोस भएका थिए। उनलाई तत्काल एम्बुलेन्समार्फत केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र पुर्याइएको थियो। स्वास्थ्य केन्द्रमा उपचारका लागि पुर्याइए पनि चिकित्सकले राति १२ बजेर ५ मिनेटमा मृत घोषणा गरेका थिए।